Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रंगेलीको संसारीमाई मन्दिरमा भक्तजनको घुईँचो (फोटो)

उद्‌घोष संवाददाता
२२ कार्तिक २०८२, शनिवार

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित शक्तिपीठ संसारीमाई मन्दिरमा हरेक शनिबार भक्तजनहरूको अत्यधिक घुईँचो लाग्ने गरेको छ ।

बली पूजाका लागि प्रख्यात कोशी प्रदेशकै प्रमुख धार्मिक स्थल संसारीमाई मन्दिरमा अत्यधिक भीड लाग्ने गरेको हो ।

संसारीमाई मन्दिरमा झापा, मोरङ, सुनसरी लगायतका विभिन्न जिल्ला र भारतका बिहार, पश्चिम बंगाल र झारखण्ड क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरू आउने गरेको जनाइएको छ ।

विगत दुईवटा शनिबार एकादशी र दीपावली परेकाले यस पटक शनिबार भक्तजनहरूको अत्यधिक घुईँचो देखिएको हो ।

धार्मिक मान्यता अनुसार संसारीमाई मन्दिरमा पूजा गरेमा सोचेको कुरा पूरा हुने विश्वास रहिआएको छ। थुप्रै भक्तजनहरूले भाकल समेत गरेर आफ्नो मनोकांक्षा पूरा हुनेमा विश्वास गरेका छन्। उनीहरूले संसारीमाईलाई बोका लगायतका बली दिने गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार शनिबार मात्रै तीन सय पचासभन्दा बढी बोका बली चढाइएको जनाइएको छ ।

मोरङकै रतुवामाई नगरपालिकाको दाम्राभिटाबाट आएका मदन ढकाल, विराटनगरको मुनालपथका कृष्ण दाहाल, बुढीगंगा–२ का खगेन्द्र भट्टराई, कानेपोखरीको हरकपुरका नवराज सुवेदी, रंगेली–१ बबियाविर्ताका रजत शाह सोनार, बेलबारीको बाहुनीका सबुरलाल चौधरी लगायतका भक्तजनहरूले आफ्नो मनोकांक्षा पूरा हुने विश्वास बोकेर संसारीमाई मन्दिरमा दर्शनका लागि पुगेको बताए ।

उनीहरूले धार्मिक विश्वासका कारण बली पूजा गरेका हुन् ।

शनिबार मात्रै करिब १० हजार मानिसले संसारीमाई मन्दिरमा पूजा गरेको जनाइएको छ ।

विराटनगरबाट २० किलोमिटर पूर्व रंगेली नगरपालिका–७, चिसाङ खोलाको किनारमा अवस्थित मन्दिरमा हरेक शनिबार भक्तजनको अत्यधिक भीड लाग्ने गरेको जनाइएको छ ।

रंगेली नगरपालिकाले यस क्षेत्रलाई प्रमुख धार्मिक गन्तव्य स्थलका रूपमा विकास गर्न हरेक वर्ष पूर्वाधार विकासका काम गर्दै आएको छ । 

कोशी प्रदेश सरकारले समेत प्रमुख धार्मिक गन्तव्यका रूपमा पहिचान गरी हरेक वर्ष बडादशैंको फूलपाती बढाईँ समेत यही मन्दिरमा गर्ने गरेको छ ।

View : 381

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved