Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रिजाल भए मोरङ चेम्बर अफ कमर्सको अध्यक्ष

उद्‌घोष संवाददाता
२० साउन २०८२, मङ्गलवार

विराटनगर । मोरङ चेम्बर अफ कर्मसको सोमबार विराटनगरमा सम्पन्न तेश्रो अधिवेशनबाट शिवप्रसाद रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

विराट व्यापार संघका पूर्वअध्यक्ष रिजाल यसअघि मोरङ चेम्बर अफ कर्मसका उपाध्यक्ष थिए । त्यस्तै घनश्याम कावरा र तुलसीप्रसाद पोखरेल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

चेम्बर अफ कमर्सका सबै पदहरू निर्विरोध विर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले जानकारी दिएका छन् । 

उनका अनुसार महासचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्ष मनोजकुमार मिश्र, सचिव हरिबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष देवेन्द्रबहादुर बस्नेत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा अञ्जलीदेवी श्रेष्ठ, विजय सुराना, दुर्गामणी रेग्मी, युगलकिशोर राठी, विकास लालवानी, शशीमोहन सिन्हा (निरज), रितेश खनाल, सुरेशकुमार भट्टराई, सुभाषप्रसाद रिजाल, चिरञ्जीवी पराजुली, सितादेवी अधिकारी चयन भएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले खुला सीमानाका कारण आन्तरिक बजारले मार खेप्नुपरेको धारणा व्यक्त गरे । 

उनले स्थानीय बजारमा पहाडका सोझासाझा जनताले किन्ने तर स्थानीय उपभोक्ता चाहि“ सीमा पारिको बजार जाने प्रवृत्ति देखिएको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बजारको अभावले पछिल्लो समय उत्पादनमा भारी कटौती गर्नुपरेको बताए । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालीलाई किनमेलका लागि जोगबनी जानबाट रोक्न आफूले सक्दो प्रयास गरेको तर व्यवसायीले नै साथ नदिदा वारिभन्दा पारि किनमेल गर्नेको संख्या बढ्दै गएको बताए ।

उद्घाटन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले जोगबनीका कारण विराटनगरको व्यापार खस्किएको अवस्थाप्रति बाराम्बार ध्यानाकर्षण गराउँदा राज्य गैरजिम्मेवार भएको गुनासो गरे । 

मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतले शुभकामना व्यक्त गरेका थिए ।

View : 879

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved