Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

सुपर ओभरमा विजयी हुँदै विसिसि वि डिभिजन क्रिकेट च्याम्पियन

उद्घोष सम्वाददाता
२५ माघ २०८०, बिहिवार

विराटनगर । मोरङ जिल्ला स्तरीय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (विसिसि) च्याम्पियन बनेको छ ।

विसिसिले बुधवार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो ।

खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

टस जितेर ब्याटिङ गरेको विसिसिले निर्धारित ३० ओभरमा सबै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । विसिसिका अनिल यादवले ४१ रन बनाउँदा  धिरज कामतले २३ रन, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए । ग्रामथानका आर्यन बास्कोटाले ३ विकेट लिँदा निर्वेश लुइँटेलले २ विकेट लिए ।

१ सय ४० रनको विजयी लक्ष पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सबै विकेट गुमाई १ सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो  । ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बास्कोटाले नट आउट २० रन निर्वेश लुइँटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए ।

विसिसिका म्यान अफ फाइनल रितेश झाले ४ विकेट लिँदा आर्यन शाहीले २ विकेट तथा कृतिक कामत, आशिष राजवंशी र अविशेक मण्डलले समान १–१ विकेट विकेट लिए ।

 प्रतियोगिताको उत्कृष्ट ब्याटर विसिसिका राहुल चौधरी, उत्कृष्ट बलर विसिसिका अविशेक मण्डल र म्यान अफ द सिरिज पनि विसिसिका कृतिक कामत घोषित भए ।

माघ १७ गतेदेखि सुरु भएको प्रतियोगिता मोरङका १६ वटा वि डिभिजन क्लबहरू सहभागी रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताए । विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडी नन्दकिशोर राठी, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

View : 142

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved