विराटनगर । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जतिसुकै राम्रो वातावरण भए पनि अभिभावकले पनि धेरै कुरा जान्नुपर्ने रहेछ । झट्ट हेर्दा सामान्य लाग्ने तर त्यसको प्रभाव ठूलो पर्दो रहेछ । धेरै कुरा सिक्न पाइयो ।’ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रममा सहभागी अभिभावक विशाल श्रेष्ठले भने ।
नर्सरीमा छोरा र कक्षा ५ मा छोरी पढ्दै गरेको बताएका उनले छोराछोरीलाई गलत नगरून् भनेर हप्काउँदा बालमस्तिष्कमा पर्ने असर, मोबाइल र टिभी देखाएर अल्मल्याउँदाका नतिजाहरूको बारेमा समेत बुझिएको बताए । उनले भने, ‘थाहा नपाई हामीले धेरै गलत अभ्यास गरिरहेका रहेछौं भन्ने बुझ्ने अवसर भयो ।’
यस्तै कक्षा १ मा अध्ययनरत विद्यार्थी रेयांश भण्डारीका बुवा होमनाथ भण्डारीले समेत उत्साहित हुँदै भने, ‘एकदमै फलदायी कार्यक्रम । यस्तो कार्यक्रम हरेक वर्ष हुनुपर्छ, त्यसले विद्यालय र अभिभावकले बालबालिकासँग गर्ने व्यवहारमा एकरूपता ल्याउने रहेछ ।’
स्कुलमा उनीहरू माथि गरिने व्यवहार र घरको व्यवहार एकै किसिमको हुन आवश्यक रहेछ भन्दै उनले बालबालिकालाई गर्ने ‘ट्रिट’ र उनीहरूलाई गर्ने मोटिभेसनका तरिकाहरू धेरै सिक्ने अवसर प्राप्त भएको बताए ।
यस्तै अभिभावक बब्लु सहनीले पनि कार्यक्रमले धेरै सचेत गराएको बताए । बालबालिकाको अगाडि अभिभावकले गर्ने छलफलले पार्ने असर, बालबालिकाका हरेक माग पूरा गर्दा पर्न सक्ने प्रभाव, उनीहरूलाई डोमिनेट गर्दा हुने सम्भावनाहरूको बारेमा धेरै जानकारी पाइएको उनको भनाइ छ ।
अभिभावक शिक्षाको कार्यक्रम पहिलो चरणमा कक्षा नर्सरीदेखि ६ सम्मका अभिभावकलाई दुई दिनसम्म सञ्चालन गरिएको हो ।
भाइस प्रिन्सिपल कुन्दन पुरीले यस माथिका कक्षाका अभिभावकहरूलाई पनि चाँडै सञ्चालन गरिने जानकारी दिए । एभरेष्ट स्कुलको सभाहलमा सञ्चालन भएको अभिभावक शिक्षालाई उत्प्रेरक प्रितम पौडेलले सहजीकरण गरेका थिए । उनले बालमस्तिष्कमा पर्ने प्रभाव, अभिभावकहरूले निर्वाह गर्नुपर्ने भूमिका, बालबालिकासँग गर्ने व्यवहार तथा पारिवारिक वातावरणका विषयमा जानकारी गराए ।
अन्तरक्रियात्मक रूपमा सञ्चालित कार्यक्रममा अभिभावकहरूले आफूहरूले गरिरहेको व्यवहार र स्कुलमा चाहिएको वातावरणलगायतका विषयमा खुलेर चर्चा गरे । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अभिभावक शिक्षा अपरिहार्य रहेको महसुस गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण बनाउँदै लगेका छौं, तर घरमा अभिभावकहरूले पनि सोही अनुसारको वातावरण नबनाउँदा अपेक्षाकृत सुधार नहुने भएकाले अभिभावक शिक्षा सञ्चालन गरिएको हो ।’
उनले हरेक अभिभावकले आफ्ना बालबालिकाको मनोभाव अनुसारको वातावरण बनाएर उत्प्रेरणा जगाउन आवश्यक रहेको समेत बताए । ‘अभिभावक शिक्षा सञ्चालन गरेपछि धेरै अभिभावकले ‘गुड प्यारेन्टिङ’ गर्न थाल्नुभएको छ, त्यसको प्रभाव बालबालिकामा पर्न थालेको छ,’ उनले भने ।
View : 54
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved