Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

व्यावसायिक स्थलको सुरक्षामा संघको जोड

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघले व्यावसायिक स्थलहरूको सुरक्षार्थका लागि गर्नुपर्ने सावधानी र उपायका विषयमा आइतबार छलफल गरेको छ । संघले ‘व्यवसायिक स्थलहरूको सुरक्षार्थ अग्नि सुरक्षा र बीमा नीतिहरू’ विषयक सेमिनारको आयोजना गरेको हो । 

‘सुरक्षित कार्यस्थल, सुरक्षित भविष्य’ भन्ने नाराका साथ आयोजित सो कार्यक्रमले उद्योगीव्यवसायीलाई आफ्ना व्यावसायिक स्थलमा देखापर्न सक्ने आगलागी जोखिम व्यवस्थापन तथा सुरक्षात्मक बीमा नीतिहरूबारे जानकारी दिने उद्देश्य राखिएको संघका कार्यसमिति सदस्य तथा बीमा तथा वित्तीय समन्वय समितिका संयोजक अमित राठीले जानकारी दिए ।

सेमिनारका संयोजक राठीले सुरक्षित कार्यस्थलले व्यवसायको उत्पादकत्व र आत्मविश्वास दुवै बढाउने बताए । 

उनले औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानहरूले अपनाउन सक्ने सुरक्षा विधि र उपकरणबारे विज्ञमार्फत जानकारी दिने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । 

कार्यस्थलमा सुरक्षात्मक उपायहरू अपनाउनाले मानव जीवन, सम्पत्ति तथा व्यवसायलाई सुरक्षित राख्न सकिने उल्लेख गर्दैै राठीले प्रत्येक उद्योगी, व्यवसायीले कार्यस्थलमा भवन, मेसिन, कच्चा पदार्थ, तयार वस्तु, कर्मचारी, आगन्तुक तथा ग्राहक सबैको सुरक्षामा ध्यान दिनुपर्ने दायित्व रहेको बताए ।

संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा भएको कार्यक्रमको महासचिव सञ्जयकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशकी प्रमुख प्रीति देव, विराटनगर महानगरपालिकाका नगर निरीक्षक राजन पौडेल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अग्नि जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र बीमा विज्ञ प्रज्वल आचार्यले सहजीकरण गरेका थिए ।

सहजकर्ताद्वय खत्री र आचार्यले सहभागीलाई कार्यस्थलमा आवश्यक हुने अग्नि जोखिम व्यवस्थापनका विधि, बीमा नीतिहरू, उपयोगी सुरक्षा उपकरण तथा यन्त्रको प्रयोगबारे व्यावहारिक अभ्याससहितको प्रशिक्षण दिएका थिए ।

View : 513

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved