Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भुटानले रोकेन नेपाली भाषीमाथिको ज्यादति

उद्‌घोष सम्वाददाता
३ वैशाख २०८२, बुधवार

विराटनगर । नेपालीभाषी आफ्ना नागरिकमाथि भुटानले लादेको अन्याय रोकिनेभन्दा बढ्ने क्रममा छ । यहीक्रममा थप पाँच जना शरणार्थीलाई भुटानले देश निकाला गरेको छ । 

अमेरिकाले डिपोर्ट गरेर भुटानलाई जिम्मा लगाएका थप पाँच जना शरणार्थी  भुटानबाट लखेटिएका हुन् । उनीहरू भारतको सिलिगुडी आइपुगेका छन् । 

शनिबार भुटान पुर्‍याइएका ती पाँच जनालाई त्यहाँको प्रशासनले आइतबार दिउँसो भारतीय सहर सिलिगुडी ल्याएर छाडिदिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले जानकारी दिए । तीमध्ये एक जना नेपाल प्रवेश गरिसकेको पौडेलले जानकारी दिए । 

अमेरिकाले आपराधिक गतिविधिमा संलग्न  रहेको भन्दै ६३ जना भुटानी शरणार्थी डिपोर्ट गर्ने सूची बनाएको एक मानवअधिकार अभियन्ताले बताए । 

तीमध्ये यसअघि नै डिपोर्ट गरेका १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी  भुटान सरकारलाई बुझाइसकेको छ । अमेरिकासँग आफ्नै नागरिक भन्दै जिम्मा बुझ्ने भुटान सरकारले ती १८ जनालाई भुटानबाट फकाएर र धम्क्याएर फेरि देश निकाला गरिसकेको छ ।

यसबाहेक थप एक जना महिला भुटानी शरणार्थी अमेरिकाको पेन्सिलभेनियामा पक्राउ परेको पौड््यालले बताए । 

उनका अनुसार ती महिला पनि डिपोर्टमा परेर भुटान आउँदै छन् । उनलाई पनि भुटानले लखेट्यो भने यो संख्या १९ पुग्छ ।

दुई साताभन्दा लामो समयदेखि काँकडभिट्टा प्रहरीको नियन्त्रणमा रहेका चार जना शरणार्थी युवालाई भेटेर लामो कुराकानी गरिसकेका नेता पौड्यालका अनुसार चैत १५ गते भुटानबाट नेपालतिर पठाइएको टोलीमा सुरूमा १२ जना थिए ।

भुटान–भारत सीमाको फुन्सोलिङ सहर आइपुगेपछि उनीहरूलाई राखेकै गाडीमा थप एक जना शरणार्थी  हालिएको थियो ।

तीमध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गते बेलडाँगी शिविरबाट पक्राउ परे । 

फुन्सोलिङमा थपिएका अशोक गुरूङ भने काँकडभिट्टा नाकाबाट समातिए । बाँकीको अवस्थाबारे कसैलाई जानकारी छैन ।

शरणार्थी समुदायका अगुवाहरू भुटानको यो रवैयाले आफ्ना नेपालीभाषी नागरिकप्रति उसको नकारात्मक दृष्टि छर्लंग पारेको बताउँछन् ।

सन् ९० दशकमा रातारात अनागरिक बनाएर खेदाइएका एक लाखभन्दा बढी नेपालीभाषी भुटानीहरूले लामो समय झापा र मोरङका सातवटा शिविरमा शरणार्थी जीवन बिताए ।

संयुक्त राष्ट्रसंघले तेस्रो देश पुनर्वासको कार्यक्रम अघि सारेपछि बहुसंख्यक शरणार्थी  युरोप, अमेरिका र अस्ट्रेलिया पुगेका छन् ।

अहिले पनि मोरङ र झापाका शिविरमा साढे ६ हजार हाराहारी शरणार्थीहरू बसिरहेका छन् ।

View : 16

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved