विराटनगर । २०८१ माघ १५ गते राती मोरङको बुढीगंगा–४ थानचोकमा १०० केभिए क्षमताको एउटा विद्युत ट्रान्सफर्मर चोरी भयो । पोलमा रहेको उक्त ट्रान्सफर्मरलाई चोरीमा संलग्न व्यक्तिहरूले भुइँमा खसालेर त्यहाँभित्र रहेको तामाको तार लगायतका महत्वपूर्ण धातु चोरी गरे ।
त्यसपछि कोशी प्रदेशका मुख्य तीन जिल्ला मोरङ, सुनसरी र झापामा लगातार विद्युत ट्रान्सफर्मर चोरीका घटना हुन थालेपछि प्रहरीमाथि संलग्न व्यक्तिहरू पक्राउ गर्न नसकेको आरोप लागेको थियो ।
यसरी चोरिएका ट्रान्सफर्मर विशेषगरी खानेपानी आयोजना र सिंचाईका लागि प्रयोग गरिने ‘डिप बोरिङ’ का थिए । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा माघ १५ यता लगातार २२ वटा विद्युत ट्रान्फर्मर चोरी भए ।
ट्रान्सफर्मर चोरिएपछि खानेपानी र किसानलाई खेतीको समयमा चाहिने पानी बन्द हुने भएपछि प्रहरीले संलग्नहरूको खोजीमा ६ महिनासम्म पछ्याएर एउटा गिरोह नै पक्राउ गर्न सफल भएको दाबी गरेको छ ।
प्रहरीले विशेष टोली नै परिचालन गरेर ट्रान्सफर्मर चोरीमा संलग्न सात जनाको गिरोहलाई पक्राउ गरेको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयहरू मार्फत ‘जताततै प्रहरी खटाएर’ निगरानी बढाएको र सोही क्रममा गिरोह नै नियन्त्रणमा लिन सफल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) इश्वर कार्कीले बताए । उनले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह नै समाप्त पारेको पनि दाबी गरे ।
प्रहरीले साउन ८ गते मध्यरातमा मोरङको रंगेली नगरपालिका–९ इटाभट्टाबाट शंकास्पद अवस्थामा मोरङकै ग्रामथान–५ का ४२ वर्षीय अर्जुनकुमार माझी (च्ँँैधरी) लाई पक्राउ गरेर गोप्य अनुसन्धान अघि बढाएको थियो । लगातारको अनुसन्धानले एक भारतीय नागरिकसमेत संलग्न रहेको गिरोहसम्म पुगेको उनले बताए ।
प्रहरीले अनुसन्धानका क्रममा माझीसहित ग्रामथान–५ सिमरियाका ३१ वर्षीय इरज धामी, सुनसरीको दुहवी नगरपालिका–३ लबिपुर बस्ने ३५ वर्षीय अनुज विश्वास (चौधरी), मोरङ बेलबारी नगरपालिका–४ कसेनीका २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ, सुनसरीको दुहवी–२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी र भारत घर भई हाल सुनसरीको दुहवी–४ मलाटी टोलस्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ (विहारी) लाई पक्राउ गरेको जनाएको छ ।
‘किसानले खेती गर्ने समयमा विभिन्न जिल्लामा सिंचाईका लागि राखिएका ट्रान्फफर्मर चोरीका घटना भएपछि हामीले जताततै प्रहरी टोली परिचालन गर्यौं, सेन्सेटिभ समयमा ट्रान्सफर्मर चोरिएपछि किसानलाई ठूलो असर परेको थियो’ डीआईजी कार्कीले भने, ‘रंगेलीमा एकजना पक्राउ परेपछि हामीले तपाईं पत्रकारहरूलाई समेत जानकारी नदिई गम्भीर अनुसन्धान गरेका थियौं, फलस्वरुप ठूलो गिरोहलाई पक्राउ गरी समाप्त पारेका छौं ।’
चोरीमा संलग्न व्यक्तिहरूले विद्युतको हाइटेन्सन भोल्टेज प्रवाह भएकै अवस्थामा पनि ट्रान्सफर्मर चोरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
चोरीका क्रममा प्रयोग भएको भ¥याङसहितको एउटा पिकअप र पाँचवटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ । तारमा विद्युत प्रवाह भएकै बेलामा पोलमा चढ्दै गरेको अवस्थामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको उनले बताए ।
‘हामीले लाइन भएकै बेलामा ट्रान्सफर्मर चोरी गरेको लाइभ भेटेका छौं’ डीआईजी कार्कीले भने, ‘५० केभिएदेखि २५० केभिएसम्मका ट्रान्सफर्मर चोरिएको पाइएको छ, झापादेखि सुनसरीसम्म एउटै समूहको नेतृत्वमा विभिन्न टोली बनाएर चोरीमा संलग्न भएको देखिएको छ, नौ लाख रुपैयाँ पर्ने ट्रान्सफर्मरलाई चोरी गरेर दुई लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ ।’
प्रहरीले चोरिएका ट्रान्सफर्मरबाट निकाएको तामा र अन्य सरसामान किन्ने थप पाँच जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर महानगरपालिका–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्रकार, सुनसरीको दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सिताराम राई रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले विद्युतको तार र ट्रान्सफर्मर तोडफोड गर्न प्रयोग गरिने अनेकौं प्रकारका मेसिन औजारसमेत बरामद गरेको जनाएको छ ।
उनीहरूले विद्युतको पोलमा होचो स्थानमा राखिएका ट्रान्सफर्मर बढी चोरेको खुलेको छ । रातको समयमा होचो स्थानका ट्रान्सफर्मर निकालेर तोडफोड गरी त्यहाँ भित्रको तामाको क्वायल चोरी गरी बिक्री गर्दै आएको जनाइएको छ ।
नेपाल प्रहरीको प्रादेशिक अपराध अनुसन्धान समूह र सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा ३५ जना भन्दा बढी प्रहरी अनुसन्धानमा खटिएको जनाइएको छ । उनीहरूकै सक्रियतामा चोरीमा संलग्न व्यक्तिहरूको सञ्जाल नै पक्राउ पर्न सफल भएको डीआईजी कार्कीले बताए ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट डायल रेञ्च २२, सलाई रेञ्च ३, पिलास ३, पेचकस ३, छिनो १, साङ्ली १, कैची १, ह्याक्सो बिलेट ३, खन्ती १, ब्याट्रीसहितको इलेक्ट्रिक ग्रेण्डर सेट १ र झम्पल १ वटा बरामद गरेको जनाइएको छ । प्रहरीले ट्रान्सफर्मरबाट निकालिएको ३६८.५ किलो तामा पनि बरामद गरेको छ ।
‘यस बीचमा उनीहरूले धेरै तामा गालेर बिक्री गरिसकेको पनि पाइएको छ, हामीले हालसम्म ३६८.५ किलो तामा बरामद गर्न सफल भएका छौं’ डीआईजी कार्कीले भने, ‘हामीले लामो अनुसन्धानबाट यो गिरोह समाप्त पारेका छौं, केही थप अनुसन्धान पनि गरिरहेका छौं ।’
२२ वटा ट्रान्सफर्मर चोरिंदा विभिन्न स्थानमा दुई करोड बढीको क्षति भएको नेपाल विद्युत प्राधिकरणको भनाई छ । सबैभन्दा बढी सुनसरीमा १२ वटा ट्रान्सफर्मर चोरी भएका छन् ।
मोरङमा ८ र झापामा २ ट्रान्सफर्मर चोरी भएको जनाइएको छ । ट्रान्सफर्मर चोरी भएकै कारण ग्रामीण क्षेत्रमा डिप बोरिङबाट हुने सिंचाई र खानेपानी आयोजनाबाट हुने पानी वितरण ठप्प भएका छन् ।
View : 605
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved