विराटनगर । नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेश सभाका पूर्व सांसद विमल कार्कीलाई एमाले कोशी प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ ।
पुस २७ र २८ मा बसेको एमाले कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक संजालमा टिकाटिप्पणी र आलोचना गर्दै आएका थिए ।
‘६ महिनाका लागि उहाँलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको छ’, खतिवडाले भने । कार्कीलाई मंसिर १६ मा एमाले कोशीका अध्यक्ष खतिवडाले नै स्पष्टीकरण सोधेका थिए । पत्रमा तीन दिनभित्र जबाफ दिन भनेपनि कार्कीले समय घर्काएर स्पष्टिकरण बुझाएका थिए ।
‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्तिहरू आइरहेको छ। त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै अध्यक्ष खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए । प्रदेश कमिटीको बैठकले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारवाही गरेको हो । स्पष्टिकरण बुझाएपनि कार्कीले सामाजिक संजालमा ओलीको विरोधमा अभिव्यक्ति दिन रोकेका छैनन् ।
कार्की वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका एमालेका सकृय नेता हुन । उनले २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट जितेका थिए ।
प्रदेश सभाको पहिलो कार्यकालमा कार्की प्रदेश सभाका सक्रिय सांसदका चिनिन्थे । उनले सदनमा जनसरोकारका मुद्दा उठाइरहने गरेका थिए ।
प्रदेश सभाको कार्यकालको अन्त्यतिर कार्कीले संसदीय दलको सचेतकको समेत जिम्मेवारी प्राप्त गरेका थिए । एमाले उदयपुरको उपाध्यक्ष भइसकेका कार्की २०८० असोजमा भएको एमाले प्रदेश कमिटीको निर्वाचनमा भने सदस्यमा पराजित भएका थिए । प्रदेश कमिटी सदस्यमा पराजित भएपछि उनले नेतृत्वप्रति रुष्ट बन्दै आएका थिए । त्यसयता कार्कीले अध्यक्ष ओलीकै विरुद्धमा सामाजिक संजालमा अभिव्यक्ति दिंदै आएका छन् ।
कार्की अब फेसबुकमा लेखेका कारण कारबाही भोग्ने नेताहरुको सूचिमा थपिएका हुन् ।
व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयमा नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले सार्वजनिक रुपमा असहमति जनाएका थिए ।
लगत्तै उनीहरू तीनै जनालाई महासचिव शंकर पोखरेलले स्पष्टीकरण सोधेका थिए । उनीहरुलाई स्पष्टीकरण सोध्ने पार्टी नेतृत्वको कदमप्रति असहमति जनाउँदै पूर्वसांसद कार्कीले फेसबुकमा आफ्ना विचार राखेका थिए ।
‘आइएम विथ भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेना’ ह्यासट्याग राख्दै त्यसबेला कार्कीले लेखेका थिए, ‘के स्पष्टीकरण सोध्छौं ? व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो । यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाइ स्खलित बनाउँछ। यो कार्यले देशभरिका एमालेजनको भावना माथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ। त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो। तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको बिरोध गरि नै रहन्छौं।’
रावल, पाण्डे र तिम्सेनालाई स्पष्टिकरण सोध्ने पार्टी केन्द्रको विपक्षमा उभिएका कार्की पनि निलम्बनको कारवाहीमा परेका हुन् । प्रदेशले उनीमाथि कारवाही गर्ने निर्णय गरेको भएपनि त्यसबारे आफूले अहिलेसम्म लिखित रुपमा जानकारी भने नपाएको कार्कीले बताए । ‘मलाई अहिलेसम्म पार्टीले जानकारी गराएको छैन' उनले भने, 'जानकारी नै नभएको विषयमा मेरो केही प्रतिक्रिया छैन ।’
एमाले उदयपुरको राजनीतिमा ओली निकट नै भएर लामो समय काम गरेका कार्कीलाई ओलीसमेत पत्याएका नेताका चिनिन्थे । ओलीकै चासोका कारण उनले उदयपुर सिमेन्ट उद्योगको अध्यक्षमा समेत नियुक्त पाएका थिए ।
View : 88
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved