Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

सत्यनारायण माविमा कक्षा ११ का ३०१ विद्यार्थीलाई स्वागत

उद्‌घोष संवाददाता
२६ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार भव्य कार्यक्रमका साथ स्वागत गरिएको छ ।

कक्षा १२ का विद्यार्थीको आयोजना तथा विद्यालयको व्यवस्थापनमा विद्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ३०१ जना विद्यार्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा विद्यालयका करीव साढे सात सय विद्यार्थीहरूको उपस्थिति रहेको जनाइएको छ ।

विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साह प्रमुख अतिथि थिए । कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक धर्मानन्द खरेललगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको पनि उपस्थिति थियो ।

नयाँ विद्यार्थीलाई विद्यालयमा स्वागत गर्दै कक्षा १२ का विद्यार्थी तथा विद्यालयका तर्फबाट उनीहरूको शैक्षिक यात्राको सफलताको शुभकामना दिइएको हो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नयाँ विद्यार्थीको स्वागतका क्रममा विभिन्न गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

स्वागत कार्यक्रममा कक्षा १२ कानुन संकायकी विद्यार्थी संस्कृति गुप्ताले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेकी थिइन् ।

विद्यालयमा नयाँ शैक्षिक यात्राका लागि प्रवेश गरेका विद्यार्थीलाई पुराना विद्यार्थीले आत्मीयतापूर्वक स्वागत गरेपछि कार्यक्रम उत्साहपूर्ण बनेको थियो । 

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रममार्फत नवआगन्तुक विद्यार्थीलाई विद्यालयको वातावरणसँग घुलमिल गराउने प्रयास गरेका थिए ।

विद्यालयले नयाँ विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय भएर अघि बढ्न प्रेरित गरेको जनाएको छ ।

कक्षा ११ मा यस वर्ष ३०१ विद्यार्थी भर्ना भएसँगै विद्यालयमा नयाँ शैक्षिक सत्रको पठनपाठन पनि उत्साहका साथ अघि बढिसकेको प्रधानाध्यापक भट्टराईले जानकारी दिए ।

View : 17

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved