Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

गगन–विश्वसँगको भेटपछि भिम पराजुली पनि बने आशावादी

सभापति र उपसभापतिको कुरा सुनेपछि अब कांग्रेस एकताबद्ध रहन्छ भन्नेमा म प्रष्ट बनेको छु– भीम पराजुली
उद्‌घोष संवाददाता
१६ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतर समूहका शीर्ष नेताहरूबीच कुरा मिल्न नसकिरहेका बेला इतर समूहकै दोस्रो–तेस्रो तहका नेताहरू भने संस्थापन पक्षसँग आशावादी देखिएका छन् । 

पछिल्लो समय पार्टी सभापति गगन थापासहितका नेताहरूसँग भेट गरेका विराटनगरका संस्थापनइतर समूहका नेताहरू थापा नेतृत्वसँग आशावादी देखिएका हुन् । 

संस्थापन इतर समूहका भनेर चिनिदै आएका विराटनगरका नेताहरूले पार्टी सभापति गगन थापासहितका नेताहरूसँग पछिल्लो समय भेटघाट बढाएका छन् । 

त्यसक्रममा सभापतिसहितका नेताहरू विवाद मिलाउन प्रतिबद्ध रहेको पाएको उल्लेख गर्दै उनीहरूले पार्टी एकता नजिकिएको बताएका छन् ।

यहीक्रममा कोशीका पर्यटन मन्त्रीसमेत रहेका कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य भीम पराजुलीले आइतबार सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेका छन् ।

मोरङ सभापति डिगबहादुर लिम्बू, सचिव मोदराज घिमिरे, अर्का नेता दिलिप गच्छदारसहित सभापति थापा र उपसभापति शर्मालाई भेटेका पराजुलीले दुवै नेताहरूले पार्टी एकताका लागि कुनै कसर बाँकी नराख्ने बताएको उल्लेख गरे । 

‘मैले पार्टीभित्रको विवाद मिलाएर एकताबद्ध कांग्रेसका लागि सभापति र उपसभापतिलाई आग्रह गरें,’ पराजुलीले भने ‘उहाँहरूको कुरा एकदमै सकारात्मक छ । 

सभापति र उपसभापतिको कुरा सुनेपछि अब कांग्रेस एकताबद्ध रहन्छ भन्नेमा म प्रष्ट बनेको छु ।’

त्यसो त पराजुलीसँगै थापा र शर्मा भेट्न गएका जिल्ला सभापति लिम्बू र सचिव घिमिरे पनि शेखर कोइराला निकट मानिन्थे । तर, उनीहरू पछिल्लो समय संस्थापन इतर समूहमा भन्दा पनि पार्टी संस्थापन पक्षकै लाइनमा उभिएका छन् ।

त्यस्तै एक साताअघि सभापति थापालाई भेटेका विराटनगर महानगरका सभापति दीपक चापागाईंले पनि सभापति थापाको कुराले आफूहरू आशावादी बनेको बताएका थिए । 

उनी पनि कोइराला निकट हुन् । कांग्रेसमा विशेष महाधिवेशनपछि विवाद चलिरहेको छ । खासगरी पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष अहिले कांग्रेसको मूलधारबाट लगभग बाहिर छन् । 

संस्थापन इतर पक्षले देशका विभिन्न ठाउँमा भेला गरेर १४ औं महाधिवेशनको टोलीलाई एकुमष्ठ रूपमा केन्द्रीय समितिमा समायोजन गर्न दबाब दिइरहेको छ । तर, सभापति थापाले त्यो काम नहुने प्रष्ट पारिसकेका छन् । 

यहीबीचमा थापा र शर्मालाई भेटेका कृष्णप्रसाद सिटौला निकट मानिने विराटनगरका पूर्व मेयर पराजुलीले कांग्रेसमा एकताको वातावरण बन्दै गएको बताएका हुन् ।

कांग्रेस विभाजनको पीडा यसअघि नै सबैले भोगिसकेको र त्यसले देशलाई असहज अवस्थामा पुर्याएको बताउँदै पराजुलीले एकताबद्ध कांग्रेसले मात्रै मुलुकलाई सही दिशा दिनेमा पार्टी नेतृत्व सचेत रहेको उल्लेख गरे । 

‘मैले पनि त्यही भनें, उहाँहरूको कुरा पनि त्यही थियो,’ पराजुलीले थपे ‘सबै नेताहरूसँग संवादमार्फत विवादको हल खोज्ने कुरामा पार्टी नेतृत्व लागिरहेको पाएको छु ।’ 

सिटौला समूहका नेता पराजुलीले पार्टी सदस्यता अद्यावधिक गरेपछि सभापति र उपसभापतिसहितका नेताहरूलाई भेटेको कांग्रेस स्रोतले जनाएको छ । उनले केही दिनअघि पार्टी क्रियाशील सदस्यता अद्यावधिक गरेको बताइएको छ ।

View : 163

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved