Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

आफ्नै निर्णयविरुद्ध ग्रामथानका अध्यक्ष माझी

पहिले गाडी नचढ्ने निर्णय गरे, अहिले उपाध्यक्षको पनि गाडी लिएर हिंडे

उद्‌घोष संवाददाता
१८ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । इन्धन भर्ने बजेट अभाव भएको भन्दै उपाध्यक्ष र वडाध्यक्षहरूको सवारी साधन बलजफ्ती खोसेका ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले खोसिएको तिनै गाडी लिएर अहिले काठमाडौं पुगेका छन् । 

आफूले समेत पालिकाको सवारी साधन नचढ्ने घोषणा गर्दै उपाध्यक्ष गुणावती देवी थारुले चढ्ने गाडी र वडाध्यक्षहरूले चढिरहेका मोटरसाइकलहरू २०८१ फागुनमा अध्यक्ष माझीले खोसेका थिए ।

कार्यपालिका बैठकमा आफ्नो प्रस्तावमा समर्थन नजनाएका कारण अन्य जनप्रतिनिधिहरूले चढ्ने गाडी खोसेर आक्रोस साँधेका अध्यक्ष माझी अहिले आफैंले पालिकाभित्रै थन्क्याइएका गाडी निकालेर काठमाडौं गएका हुन् ।

अध्यक्ष माझी केही वडा सदस्यहरूसँगै काठमाडौं गएको पालिका स्रोतले जनाएको छ । उनी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएका लेखा अधिकृतलाई नै निरन्तरता दिन लविङका लागि को १ झ ५७८ र प्रदेश १–०४–००१ झ ००२० नम्बरको गाडी लिएर गएको जनाइएको छ ।

अध्यक्षले गाडी खोसेपछि उपाध्यक्ष थारुले अब पालिकाको कुनै पनि गाडी नचढ्ने घोषणा गर्दै खोसिएका गाडीलाई एम्बुलेन्स र शव वाहन बनाउन माग गरेकी थिइन् । त्यसपछि दवावमा परेका अध्यक्ष माझीले आफूले गाडी चढ्ने बाटो खोल्न उपाध्यक्ष र वडाध्यक्षहरूलाई गाडी फिर्ता लिन पत्रै पठाएका थिए । 

नियोजित रुपमा खोसेको गाडी नचढ्ने उपाध्यक्ष थारुले बताएपछि अन्नतः अध्यक्ष माझीले गाउँपालिकामा थन्क्याइएका गाडी लिएर काठमाडौं हिंडेका हुन् ।

‘अध्यक्षले आफू पनि गाडी नचढ्ने भन्दै मैले चढ्ने गरेको गाडी पनि खोसेका थिए, अहिले उनैले पालिकाको गाडी चढिरहेका छन्, केही वडा सदस्य र कार्यापालिका सदस्यहरूलाई लिएर काठमाडौं गएको जानकारी पाएको छु’ उपाध्यक्ष थारुले भनिन्, ‘कसैले नचढ्ने भएपछि गाडीलाई एम्बुलेन्स र शव वाहन बनाऔं भनेको थिएँ, अहिले त अध्यक्षले नै गाडी चढेका छन्, अध्यक्ष आएपछि हामी त्यसको उचित जवाफ माग्छौं ।’

उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएपछि माझीले गाउँपालिकामा अनेकौं अराजक गतिविधि गर्दै आएका छन् । उनले कानुनविपरीत गाउँसभा बैठक बोलाउने र आफूखुसी निर्णय गर्ने, उपाध्यक्ष र अन्य जनप्रतिनिधिको कार्यक्षेत्रमाथि दख्खल दिने, प्रवक्ता हटाउने जस्ता काम गरेर विवादित बनेका छन् । 

त्यस्तै पालिकाभित्रका किसानलाई मल आपूर्ति रोक्ने, न्यायिक समितिका सदस्य हटाउने, उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी तोक्ने, बसोबासको व्यवस्था नगरी सडक किनारमा बसेका स्थानीय जनतालाई हटाउने लगायतले उनी थप आलोचित छन् ।

अध्यक्ष माझीकै कारण गाउँपालिकाको योजना निर्माण र बजेट कार्यान्वयनको प्रक्रियासमेत अदालत पुगेको छ ।

उनका अधिकांश अराजक कदमविरुद्ध पालिकाका जनप्रतिनिधिहरूले पटक–पटक अदालत गुहारिसकेका छन् । अदालतले समेत उनका गैरकानुनी कदममा ब्रेक लगाउँदै आएको छ ।

View : 313

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved