फाइल तस्वीर ।
विराटनगर । कोशी प्रदेशका इँटा उद्योग यस वर्ष कामदार अभावको चपेटामा परेका छन् । उत्पादनका लागि आवश्यक दक्ष मजदुर भारतबाट ल्याउन कठिन भएपछि उद्योगहरूले उत्पादन घटाउनुपर्ने अवस्था आएको छ ।
कोइला र माटोको लागतसमेत बढिरहेका बेला कामदारको अनिश्चित उपलब्धताले व्यवसायीलाई थप दबाबमा पारेको छ ।
कोशी प्रदेशमा दर्ता भएका करिब ६० इँटा उद्योगमध्ये अहिले ४२ वटाजति सञ्चालनमा छन् । सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांश भारतीय कामदारकै भरमा छन् ।
विशेषगरी इँटा बनाउनेदेखि भट्टीमा लगेर पकाउने र पाकेका इँटा निकाल्नेसम्मका काममा भारतीय मजदुरको निर्भरता छ ।
यस वर्ष मागअनुसार कामदार नआउँदा उद्योग सञ्चालनको योजना नै प्रभावित हुन थालेको व्यवसायीहरू बताउँछन् ।
कोशी प्रदेश इँटा व्यवसायी संघका अध्यक्षसमेत रहेका सुनसरीको दुहबी–९ स्थित जयबाबा इँटा उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठले यस वर्ष कामदार अभावकै कारण आफ्नो उद्योगको उत्पादन आधा घट्न सक्ने बताए ।
श्रेष्ठले यस वर्षका लागि भारतको पश्चिम बंगालबाट २२५ जना कामदार ल्याउने तयारी गरेका थिए । तर, अहिलेसम्म १२५ जना मात्रै आइपुगेका छन् ।
बाँकी कामदार आउने निश्चित नहुँदा उनी थप मजदुरको खोजीमा फेरि भारत जाने तयारीमा छन् ।
इँटा उद्योगमा कामदार ल्याउने प्रचलित व्यवस्था ज्यालादारीभन्दा केही फरक छ । व्यवसायीले भारतका विभिन्न ठाउँमा पुगेर कामदारसँग उत्पादनको परिमाणका आधारमा ज्याला निर्धारण गर्छन् ।
बस्ने र खाने प्रबन्ध उद्योगले नै मिलाइदिन्छन् । त्यसपछि कामदारले बनाएको इँटाको संख्याअनुसार पारिश्रमिक पाउँछन् ।
श्रेष्ठका अनुसार उनले प्रतिइँटा एक रुपैयाँ १२ पैसाका दरले कामदारसँग ज्याला सम्झौता गर्दै आएका छन् । तर सम्झौताअनुसार आवश्यक संख्यामा कामदार नआए उत्पादनको लक्ष्य पूरा गर्न सम्भव हुँदैन ।
जयबाबा इँटा उद्योगले सामान्य अवस्थामा वार्षिक करिब एक करोड ५० लाख इँटा उत्पादन गर्दै आएको छ । यस वर्ष आवश्यक कामदार थपिन नसके उत्पादन ७५ लाख हाराहारीमा सीमित हुन सक्ने श्रेष्ठको अनुमान छ ।
अर्थात्, कामदार अभावले एउटा उद्योगको मात्रै उत्पादन करिब आधा घट्ने जोखिम छ ।
‘नेपाली कामदारले माटोको कामै गर्न जान्दैनन्’, श्रेष्ठले भने, ‘भारतकै कामदारको भर पर्दा भनेअनुसार आइदिँदैनन् ।’
इँटा उद्योगमा भारतीय मजदुरको निर्भरता नयाँ होइन । पछिल्ला वर्षमा कामदार जुटाउन झन् कठिन हुन थालेको व्यवसायीहरूको अनुभव छ ।
नेपाली युवा रोजगारीका लागि खाडी मुलुक, मलेसिया र पछिल्लो समय दक्षिण कोरिया तथा युरोपका विभिन्न देश पुगिरहेका छन् । स्वदेशमै उपलब्ध श्रमशक्तिमध्ये पनि इँटाभट्टाको कठिन काममा आकर्षण देखिएको छैन ।
इटहरी–१५ स्थित अनन्त इँटाभट्टाका कर्मचारी सुरज दाहालका अनुसार नेपाली कामदारले नियमित रूपमा काम गर्ने र लामो समयसम्म उद्योगमा टिक्ने समस्या देखिने गरेको छ ।
उनका भनाइमा चाडपर्वका बेला बिदामा जाने र लामो समयसम्म नफर्किने प्रवृत्तिले उत्पादनको नियमितता प्रभावित हुन्छ ।
भारतीय कामदार प्रायः परिवारसहित इँटा उद्योगमा आउने गर्छन् । उनीहरूका लागि उद्योग परिसरमै बसोबासको व्यवस्था गरिन्छ ।
परिवारसँगै उद्योग परिसरमा बस्ने भएकाले उनीहरू उत्पादन अवधिभर काममा संलग्न हुन्छन् । बिहानदेखि राति अबेरसम्म काम हुने भएकाले उद्योगले पनि कामदारको उपलब्धताअनुसार उत्पादन अघि बढाउन सक्छन् ।
कामदार अभावले इँटा उद्योगलाई उत्पादन प्रणाली परिवर्तन गर्नुपर्ने अवस्थामा पु¥याएको व्यवसायीहरूको भनाइ छ ।
उनीहरूका अनुसार हातले गर्नुपर्ने काम क्रमशः मेसिनबाट गराउन सके मात्रै जनशक्तिको निर्भरता घटाउन र उत्पादनलाई निरन्तरता दिन सकिन्छ । इटहरी–१६ स्थित एनएम इँटाभट्टाका सञ्चालक विनोद अग्रवालका अनुसार केही वर्षअघिसम्म इँटा बनाउन आवश्यक माटो मुछ्ने कामसमेत मजदुरले हातैले गर्थे । अहिले धेरै उद्योगले माटो मुछ्ने काम मेसिनबाट गर्न थालेका छन् ।
विराटनगरस्थित विराट इँटाभट्टाका सञ्चालक तथा कोशी इँटा व्यवसायी संघका कार्यवाहक अध्यक्ष लिलाराज पराजुलीका अनुसार सबै उद्योगमा कामदार अभावको अवस्था समान छैन ।
कतिपय उद्योगले प्राविधिक सीप भएका कामदार भारतबाट ल्याउने र अन्य काममा स्थानीय जनशक्तिसमेत परिचालन गरेर उत्पादन गरिरहेका छन् ।
भारतमै रोजगारीका अवसर उपलब्ध हुन थालेपछि त्यहाँका मजदुरलाई नेपाल ल्याउन व्यवसायीलाई सहज छैन ।
नेपाल र भारत दुवैतर्फ इँटा उद्योग सञ्चालन हुने समय लगभग एउटै भएकाले भारतीय कामदार आफ्नै क्षेत्रका उद्योगमा व्यस्त हुने गरेका छन् ।
‘नेपाल र भारतका इँटाभट्टा सञ्चालन गर्न सिजन लगभग मिल्दो भएकाले गर्दा पनि उतै (भारत) कामदारलाई भ्याइनभ्याई हुँदा नेपाल ल्याउन कठिनाइ हुने गरेको छ’, पराजुलीले भने ।
कोशी प्रदेशमा इँटा उद्योगको मुख्य उत्पादन चक्र असोजबाट सुरु हुन्छ । वैशाख अन्तिम वा जेठको दोस्रो सातासम्म उद्योग सञ्चालनमा रहन्छन् । यही सीमित अवधिमा आवश्यक संख्यामा कामदार जुटाउन नसक्दा उद्योगको वार्षिक उत्पादनमा प्रत्यक्ष असर पर्ने गर्छ ।
कामदार अभावसँगै इँटा उद्योगले इन्धन र कच्चा पदार्थको मूल्यवृद्धिको दबाब पनि खेपिरहेका छन् । इँटा पोल्न प्रयोग हुने मुख्य इन्धन कोइलाको आपूर्तिमा आएको परिवर्तनले लागत बढाएको व्यवसायीहरूको भनाइ छ ।
एउटा इँटा उद्योगलाई उत्पादनको परिमाणअनुसार एक सिजनमा सात सयदेखि एक हजार टनसम्म कोइला आवश्यक पर्छ । यति ठूलो परिमाणमा इन्धन खरिद गर्नुपर्ने भएकाले कोइलाको मूल्यमा हुने परिवर्तनले उद्योगको कुल लागतमा ठूलो प्रभाव पार्छ ।
माटोको उपलब्धता र ढुवानी पनि अर्को चुनौती बनेको छ ।
एउटा इँटा उद्योगलाई एक सिजनमा १० चक्के टिप्परका १६ देखि १७ हजार टिप माटो आवश्यक पर्ने व्यवसायीहरू बताउँछन् । उद्योग नजिकै पर्याप्त माटो नपाइने भएपछि टाढाबाट ल्याउनुपर्ने बाध्यता छ ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved