विराटनगर । नेपालगञ्जमा सम्पन्न ‘नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप’मा कोशी प्रदेशको प्रतिनिधित्व गरेको विराटनगरस्थित एभरेस्ट सेकेण्डरी स्कुलका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै ६ पदक जितेका छन् ।
प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै दुई रजत र चार कास्य गरी कुल ६ पदक जित्न सफल भएका हुन् ।
विद्यालयमा कक्षा ७ मा अध्ययनरत पुरव तिम्सिनाले १०० मिटर र ५० मिटर ब्रेस्टस्ट्रोक विधामा दोस्रो स्थान हासिल गर्दै दुई रजत पदक जितेका छन् । त्यसैगरी, सोही कक्षामा अध्ययनरत आरध्या पाण्डेले चार विधामा तेस्रो स्थान हासिल गर्दै चार कास्य पदक आफ्नो नाममा पारेकी छन् ।
आरध्याले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टाइल विधामा कास्य पदक जितेकी हुन् ।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगञ्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालका सातवटै प्रदेशका साथै भारतको नयाँदिल्ली र लखनऊलगायत स्थानबाट करिब १५० खेलाडीको सहभागिता रहेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीबीच भएको प्रतिस्पर्धामा एभरेस्टका विद्यार्थीले देखाएको प्रदर्शनलाई विद्यालयले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
विद्यार्थीहरूको मेहनत, अनुशासन र दृढ संकल्पका कारण विद्यालयले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सफलता हासिल गरेको एभरेस्ट सेकेण्डरी स्कुलका प्रिन्सिपल टीकाराम पुरीले बताए ।
दुई विद्यार्थीको सफलताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको उल्लेख गर्दै प्रिन्सिपल पुरीले यस उपलब्धिले विद्यालयको खेलकुद पहिचान थप उचो बनाउने विश्वास व्यक्त गरे । साथै, उनीहरूको सफलताले अन्य विद्यार्थीलाई पनि पौडी खेलप्रति आकर्षित गर्दै खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा दिने उनले बताए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई विद्यार्थीले एकैपटक ६ पदक जित्नु एभरेस्ट स्कुलका लागि महत्वपूर्ण उपलब्धि बनेको छ । यसले विद्यालयमा अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुद विकासलाई दिइँदै आएको प्राथमिकतालाई समेत उजागर गरेको छ ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved