सिन्धुली, १२ असोज । सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फेसका छन् ।
गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन् ।
सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताए ।
बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको उनले उल्लेख गरे ।
“अहिले हामी गुरुकूलको माथिल्लो तलामा छौँ । कतैबाट उद्धारको पहल भएको छैन”, उनले भने ।
विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए ।
“हामी उनीहरुको उद्धारका लागि प्रयास गरिरहेका छौँ । गएराति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन”, उनले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाडीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबारदेखि पहल गरिरहेको जानकारी दिए ।
“यहाँबाट उद्धारमा खटिएको टोलीले उनीहरुको अहिलेसम्म उद्धार गर्न सकिरहेको छैन ।
काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर झिकाउने पहल भइरहेको छ”, उनले भने, “अहिले मौसम प्रतिकूल भएकाले हेलिकप्टर पनि आउन सकेको छैन ।
मौसम अनुकूल हुने वित्तिकै हेलिकप्टर उडानमार्फत उद्धार हुन्छ ।”
रोशी र सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका–५ मुल्कोट, रगोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन् ।
साथै दुम्जाका पाँच घर बगाएको छ ।
दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
सुनकोशी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन् ।
अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । रासस
View : 161
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved