Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङमा ७३औं विश्व कुष्ठरोग दिवस मनाइयो

औषधिले रोग निको हुन्छ, तर समाजको विभेद अझै चुनौती
उद्‌घोष संवाददाता
११ माघ २०८२, आइतवार

विराटनगर  । “कुष्ठरोगको छ ओखति, समाजको लान्छना र विभेद मुख्य चुनौती“ भन्ने मूल नाराका साथ मोरङका विभिन्न पालिकाहरूमा ७३औं विश्व कुष्ठरोग दिवस आइतबार भव्य रूपमा मनाइएको छ।

सामुदायिक पुनर्स्थापना केन्द्र (सीवीआर) विराटनगर र फर्मेडको साझेदारीमा सञ्चालित ’संकल्प परियोजना’ अन्तर्गत मोरङका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका हुन्।

रोगभन्दा सामाजिक दृष्टिकोण घातक


दिवसको अवसरमा आयोजित कार्यक्रमहरूमा वक्ताहरूले कुष्ठरोग शारीरिक समस्या मात्र नभई सामाजिक विभेदको विषय बनेकोमा चिन्ता व्यक्त गरे। सीवीआर विराटनगरका व्यवस्थापक नवीन दाहालले कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग भए तापनि समाजमा अझै व्याप्त अन्धविश्वास र विभेदकारी व्यवहार उपचारका लागि मुख्य बाधक रहेको बताए ।

“बजारमा कुष्ठरोगको प्रभावकारी औषधि उपलब्ध छ र समयमै उपचार गरे अपाङ्गताबाट बच्न सकिन्छ,“ दाहालले भने, “तर बिरामीले रोग लुकाउनुको पछाडि समाजले लगाउने लान्छना र गर्ने विभेद नै प्रमुख कारण हो। जबसम्म सामाजिक सोच बदलिँदैन, तबसम्म कुष्ठरोग मुक्त समाज निर्माणको संकल्प अधुरो रहन्छ।“

संकल्प परियोजनाको सक्रियता

मोरङका विभिन्न पालिकाहरूमा सञ्चालित संकल्प परियोजनाले कुष्ठरोग प्रभावितहरूको पहिचान, उपचारमा पहुँच र उनीहरूको सामाजिक पुनस्र्थापनाका लागि निरन्तर काम गर्दै आएको छ। दिवसका अवसरमा पालिका स्तरमा अन्तरक्रिया, सचेतना रथ र स्वास्थ्य परीक्षणका सन्दर्भमा छलफलहरू गरिएका थिए।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी तथा अभियन्ताहरूले कुष्ठरोग लागेका व्यक्तिहरूलाई परिवार र समाजले तिरस्कार नगरी माया र सहयोग गर्नुपर्नेमा जोड दिए। औषधिले शरीरको कीटाणु मार्ने तर समाजको मायाले बिरामीको आत्मबल बढाउने सन्देश गाउँ–गाउँसम्म पु-याउनुपर्ने निष्कर्ष निकालिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि, कुष्ठरोग प्रभावित व्यक्तिहरू र नागरिक समाजका अगुवाहरूको उल्लेख्य सहभागिता  थियो।

 

View : 310

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved