विराटनगर । मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा तीनजना आकांक्षी देखिएका छन् । जेठ १९ गते हुने निर्वाचनका लागि उनीहरू प्रचार प्रसारमा उत्रिएका हुन् ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष राम बहादुर घिमिरेले मंगलबार नै उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अध्यक्ष पदमा दुर्गा चापागाँई र लालमणि भट्टराई समेत आकांक्षी देखिएका छन् । उनीहरूले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि फाराम लगिसकेको जनाइएको छ ।
मंगलबारदेखि बुधबार अपरान्ह १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको जनाइएको छ । ६ हजार बढि उपभोक्ता रहेको मानगढ खानेपानी आयोजनाको नेतृत्व चयनका लागि उम्मेदवारहरूबीच दलगत रूपमा प्रतिष्पर्धा हुने देखिएको छ ।
अध्यक्षकी आकांक्षी चापागाईँ नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेकी हुन् । कांग्रेसले आकांक्षीहरूको व्यवस्थापन गर्दै सवै पदमा सर्वसम्मत उम्मदेवार बनाउने तयारी गरेको छ ।
उम्मेदवार छनौटका लागि पार्टीको तर्फबाट खटिएका प्रतिनिधि कांग्रेस मोरङका जिल्ला सचिव ललित बहादुर श्रेष्ठले अध्यक्षमा चापागाईँलाई उम्मेदवार बनाउने सिफारिस गरेका हुन् ।
त्यसैगरी महिला उपाध्यक्षमा सावित्रा पोखरेल, पुरूष उपाध्यक्षमा भोला घिमिरेलाई कांग्रेसले उम्मेदवार बनाउने भएको हो ।
सचिवमा पवनकुमार भट्टराई र कोषाध्यक्षमा प्रदीप नेपाललाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको जनाइएको छ । महिला सदस्यहरूतर्फ संगीता आचार्य र यशोदा कार्की, खुल्ला सदस्यतर्फ मात्रिका कोइराला र राजकुमार राजवंशीलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।
अध्यक्षका अर्का आकांक्षीहरू घिमिरे र भट्टराई नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्ने दौडमा उत्रिएका छन् । अध्यक्षमा दुईजना आकांक्षी भएको भन्दै अहिले एमालेका नेता कार्यकर्ताहरू एकमात्र उम्मेदवार बनाउन दौडधुपमा लागेका छन् ।
उनीहरूले प्यानलै बनाएर चुनाव लड्ने तयारी गरेका छन् । तर एमालेले समेत दुईमध्ये एकजनालाई अध्यक्षको उम्मेदवार बनाउने गरी छलफल गरिरहेका कारण अन्तिम प्रतिष्पर्धा दलगत रूपमा हुने निश्चित भएको छ ।
एमाले स्रोतका अनुसार खानेपानी आयोजनामा वर्तमान सत्ता समिकरणमा रहेका दलहरूबीच गठबन्धन गरेर चुनाव लड्ने तयारी अघि बढेको जनाइएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले आकांक्षीहरूको व्यवस्थापनको काम भइरहेको बताए । उनले बुधबार विहान ९ बजेसम्ममा आकांक्षीहरू मिलाइसक्ने दाबी गरे ।
थापाले एमाले–माओवादी समिकरण गरेर चुनाव लड्ने विषयमा समेत छलफल भइरहेको बताएका हुन् । तर त्यसका लागि टुंगोमा नपुगेको जानकारी दिए ।
मानगढ खानेपानी आयोजना २० बर्षअघि स्थापना भएको थियो । वर्तमान अध्यक्ष घिमिरेकै नेतृत्वमा स्थापित भएको आयोजना अहिले देशकै नमूना खानेपानी आयोजनाका रूपमा चिनिएको छ ।
स्वच्छ पानी वितरण गरेर नाम कमाएको उक्त आयोजनाले पछिल्ला दिनमा भने पानी वितरणको सञ्जाल बढाएपनि गुणस्तर कायम गर्न नसकेको भन्दै उपभोक्ताहरूले गुनासो गर्दै आएका छन् ।
View : 289
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved