Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोशी प्रदेश सरकारको लगानीमा भेडेटारमा बनाइएको 'स्काइ वाक' संचालनमा

उद्‌घोष सम्वाददाता
११ साउन २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भेडेटारमा स्काइ वाक (सिसामा हिंड्ने टावर) टावर निर्माण सम्पन्न गरेर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेश सरकार अन्तरगतको प्रदेश लगानी प्राधिकरण र उक्त परियोजनाको विकासकर्ता कम्पनी बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिबीच दुई बर्षमा सम्पन्न गर्ने गरी चार वर्ष पहिले २०७७ फागुन ९ मा सम्झौता भएको थियो ।

तर कोभिडका कारण परियोजनाको काम अघि बढ्न ढिलाई हुँदा दुई बर्षपछि प्रदेशकै पर्यटन विकासमा सहयोग बन्ने स्काई टावर निर्माण सम्पन्न भएको जनाइएको छ ।

टावरको ‍औपरचारिक उद्‍घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

मुख्यमन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष २०८२’ लाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेडेटार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन बिकासमा प्रदेश सरकार लागेको उनको भनाइ थियो । स्काइ वाक सञ्चालनले पर्यटन प्रवर्द्धनका लागि आकर्षण थप्ने मुख्यमन्त्री कार्कीले बताए । ‘तीन तहकै सरकारको सामूहिक कर्म सफल भएको पनि उनले बताए ।

४१ मिटर लम्बाइ, २ मिटर चौडाइ रहेको स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको जनाइएको छ । स्टिल टावरको उचाइ १८ दशमलव ५ मिटर रहेको छ । स्काइ वाकमा हिंड्नका लागि ३३ एमएमको सिसा राखिएको पनि जनाइएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले यस आयोजनाले धरान र धनकुटामा पर्यटक बढाउने बताए । यस परियोजनाले गाउँपालिका र भेडेटारको मात्र नभई कोशी प्रदेशकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले व्यक्त गरे ।

धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाकोमा सिमानामा अवस्थित चार्ल्स प्वाइन्टको ११ रोपनी वन क्षेत्रमा २० करोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिएका हुन् ।

निर्माण सम्पन्न भएको टावरबाट आगामी दिनमा बञ्जी जम्प, जीपलाइन र फ्रि-फल जस्ता साहसिक खेलहरु समेत सञ्चालन गर्न सकिने कम्पनीका अध्यक्ष इन्जिनियर आकर्षण पोखरेलले जानकारी दिए ।

View : 354

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved