विराटनगर । नेपाली कला, सीप र रोजगारीलाई एकैसाथ अघि बढाउने उद्देश्यसहित स्थापना गरिएको निडल फेल्ट क्रिएसन अहिले ठूलो फेल्ट उत्पादन गर्ने उद्योगका रूपमा स्थापित भएको छ ।
काठमाडौंका विभिन्न स्थानमा कारखाना रहेको यो उद्योगले विशेषगरी विवाहित महिला तथा आर्थिक कठिनाइबाट गुज्रिरहेका महिलालाई सीपमूलक रोजगारी प्रदान गर्दै आएको छ ।
फेल्ट ऊन वा अन्य प्राकृतिक फाइबरलाई सुईको प्रयोगबाट जोडेर बनाइने एक प्रकारको बाक्लो कपडाजस्तो सामग्री हो । फाइबरहरूलाई आपसमा गा“सेर फेल्ट तयार गरिन्छ ।
विशेष सुईको सहायताले ऊनलाई बारम्बार घोचेर आकार दिने प्रक्रियालाई निडल फेल्टिङ भनिन्छ । यही प्रक्रियाबाट विभिन्न आकृति र सामग्री तयार गरिन्छ ।
प्रेमकुमारी चौहानद्वारा स्थापित र सञ्चालन गरिएको यस उद्योगले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्दै आएको छ ।
सीप र मेहनतका आधारमा रोजगारी सिर्जना गर्दै महिलालाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने प्रयास संस्थाले निरन्तर गरिरहेको छ ।
संस्थाका अनुसार हाल मुख्य कारखानामा ३०० भन्दा बढी र अन्य शाखाहरूमा करिब ३०० गरी करिब ६०० जनाले रोजगारी पाएका छन् । तीमध्ये अधिकांश कर्मचारी महिला छन् ।
प्रत्यक्ष रूपमा आएर काम गर्न सक्ने महिलालाई उद्योगमै रोजगारी दिइन्छ भने विभिन्न कारणले बाहिर निस्कन नसक्ने महिलालाई घरमै बसेर काम गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
निडल फेल्ट क्रिएसनले ऊन तथा अन्य सामग्री प्रयोग गरेर उच्च गुणस्तरका हस्तनिर्मित सामग्री उत्पादन गर्दै आएको छ ।
यस उद्योगमा विशेषगरी बिरालोका लागि घर, बल, खेलौना, सजावटी मूर्ति तथा अन्य विभिन्न सामग्री उत्पादन गरिन्छ ।
तालिमप्राप्त र अनुभवी महिला कर्मचारीहरूको सहकार्यमा ग्राहकको चाहना र डिजाइनअनुसार सामग्री उत्पादन गरिने कम्पनीले प्रष्ट पारेको छ ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved