Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा म्याजिक भ्यानको मनपरी, अवैध असुलीमा ट्राफिक प्रहरी

उद्‌घोष संवाददाता
१३ साउन २०८२, मङ्गलवार

विराटनगरमा ट्राफिक लाइट बलेका बेला देब्रे घुम्ने सवारी साधनलाई अवरोध गरेर रोकिएको म्याजिक र एक सय रूपैयाँ लिने गरिएको पार्किङ शुल्कको रसिद । तस्वीर : उद्घोष

विराटनगर । यातायातको तीब्र चाप बढिरहेको कोशी प्रदेशको राजधानी विराटनगरमा यात्रुबाहक म्याजिक भ्यानले ट्राफिक लाइटको अवज्ञा गर्दा सडक प्रयोगकर्ता मर्कामा पर्ने गरेका छन् ।

ट्राफिक लाइट भएका ठाउँमा देब्रे घुम्ने सवारी साधनलाई सिधा जानुपर्ने म्याजिक भ्यानले अवरोध गर्छन् । 

म्याजिक भ्यानको सिण्डिकेटले ट्राफिक प्रहरीलाई समेत रकम बुझाउने भएकाले सडकमा नियम उल्लङ्घन गर्दा पनि उनीहरू कारवाहीमा पर्दैनन् । 

म्याजिक भ्यान सञ्चालकको कम्पनीका प्रतिनिधिले विराटनगरको महेन्द्रचोक उत्तरमा रकम संकलन गरेर ट्राफिक प्रहरीलाई पनि बुझाउने गरेका छन् ।

सोमबार अपरान्ह ६ बजे को १ ज ३३८२ नम्बरको म्याजिकलाई समितिका युवाहरूले रोकेर रकम माग गरे । 

गाडीमा यात्री नभएकाले चालकले एक सय रूपैयाँ दिन अस्वीकार गरेपछि बीच सडकमै युवाहरूले म्याजिक भ्यान १० मिनेटसम्म रोके । त्यसबेला केहीबेर सवारी आवागमन समेत प्रभावित भयो । 

भ्यान चालकले मंगलबार दुबै दिनको रकम दिने सर्तमा गाडी अगाडि बढाए ।

विराटनगर महानगरपालिकाबाट बस टर्मिनलमा सवारीसाधन पार्किङको शुल्क लिने ठेक्का लिएको रूद्राक्ष बिल्डर्स प्रालिको रसिद ति युवाहरूले म्याजिक भ्यान चालकलाई दिने गरेका छन् । 

रसिदमा म्याजिक भ्यान पार्किङ शुल्क ५० र भ्याटसहित ५६ रूपैयाँ ५० पैसा उल्लेख छ । 

भ्यान सिण्डिकेटका प्रतिनिधिले ५० रूपैयाँ ठेकेदारलाई र बाँकी रकम ट्राफिक प्रहरी तथा आफ्ना लागि खर्च गर्ने गरेका छन् ।

मोरङ ट्राफिकले सवारी साधनबाट राजश्व बाहेकको रकम संकलन गर्न हवल्दार र सहायक हवल्दार गरी दुई जना जनशक्ति परिचालन गरेको स्रोतले बताएको छ । 

उनीहरूले नै म्याजिक भ्यानको सिण्डिकेटबाट रकम संकलन गर्छन् । 

रकम संकलनमा हिंड्दा दुई मध्ये एक सरकारी मोटरसाइकलमा र एक सीटी सफारीमा हिंड्छन् ।  

विराटनगरको मुनालपथस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि  कोशी राजमार्गमा नियमित जा“च हुन्छ ।

ट्र«ाफिक नियम पालना नगर्नेले अनलाइन जरिवाना तिर्नुपर्ने हुन्छ । चालकले राजश्वमा जाने जरिवाना ट्राफिक कार्यालय अगाडिको खाजा पसलेमार्फत अनलाइन बुझाउँछन् । 

पसलेले त्यसबापत सेवा शुल्क लिन्छन् । राजश्वमा नजाने जरिवाना भनें खाजा पसलमा चालकले जम्मा गर्नुपर्ने नियम बनाइएको स्रोतको भनाइ छ । 

सो रकमको हिसाब रकम संकलनमा हिंड्ने ती दुई जना ट्र«ाफिक प्रहरीले लिने गरेका छन् ।

‘बिल कहिले दिन्छन्, कहिले दिंदैनन्, ट्राफिक प्रहरीलाई पनि दिनुपर्ने भनेर दादागिरी शैलीमा पैसा उठाउँछन्’ एक चालकले भने । 

आफूले दिएको रकम ट्राफिक प्रहरीलाई पनि जाने भएकाले म्याजिक चालकले रातो बत्ती बलेको बेला देब्रे मोडमा गाडी रोकेर हरियो बत्ती बलेपछि सिधा जाने गरेका छन् । 

रातो बत्ती बलेका बेला म्याजिक भ्यानका कारण देब्रे मोडिने अन्य सवारी साधन रोकिन बाध्य हुने गरेका छन् ।

ट्राफिक लाइट भएका चोकमा रहेका ट्राफिक प्रहरीले सिधा अगाडि जाने म्याजिक भ्यानले देब्रे मोडलाई गरेको अवरोधलाई बेवास्ता गर्नुृको कारण रकम भएको बताइएको छ । 

हरित विराटनगरको अभियान चलाउँदै आएका पारूल क्षेत्री ट्राफिक प्रहरी रकम उठाउनेमा मात्रै केन्द्रित भएकाले यात्री असुरक्षित हुने गरेको बताउँछन् । उनी आफै वृक्षरोपणमा हिंड्दा सिटी सफारी चलाउँछन् ।

‘ट्राफिक प्रहरीले कसुर निर्धारण आफैं गर्छ र कमिशनका लागि राजश्व संकलन गर्छ’ क्षेत्रीले भने– ‘विराटनगरको ट्राफिक ब्यवस्थापन अहिले अस्तब्यस्त अवस्थामा छ ।’ 

ट्राफिक लाइट भएको ठाउँबाट देबे्रतर्फ मोडिन जुनसुकै बेला खुल्ला हुने भएकाले रातो बत्तीले रोकेको बेला पनि चालकले सवारी साधनलाई सडकको देब्रे तर्फ मोड्न पाउँछन् । 

देब्रे लेनमा यात्रुबाहक म्याजिकले अवरोध गर्दा एम्बुलेन्ससम्म रोकिने अवस्था आउने गरेको छ । 

कञ्चनबारी, बरगाछी, भटी मोड, रोडशेष, जलजला चोक र तीनपैनी गरी छ वटै ट्राफिक लाइट भएको स्थानमा देब्रे लेनमा समस्या छ । 

‘ट्राफिकको सिटीले नै अवरोध खुल्छ तर, त्यसो गरिंदैन’ सडक प्रयोगकर्ताको गुनासो छ ।

मोरङ ट्राफिकका प्रमुख राजन लम्साल म्याजिक भ्यानको स्टेशन नै नभएकाले ब्यवस्थित गर्न नसकेको तर्क गर्छन् । 

ट्राफिक नियम सिक्दैछौं भन्ने चालकहरू पनि रहेको बताउने उनले सडक प्रयोगकर्तालाई नियम सिकाउन अझै समय लाग्ने बताए । 

उनका अनुसार गएको आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने ९ हजार ४ सय ४० साना सवारी साधन कारवाहीमा परेका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख तथा नायव उपरीक्षक सन्तोष श्रेष्ठ देब्रे लेन क्लियर राख्न मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिने गरिएको बताउँछन् । 

देब्रे लेनमा रोकिएका सवारी साधनलाई देब्रे तर्फनै घुमाएर बाटो खुल्ला गर्ने गरिएको उनले बताए । तर, हेपाहा चालक र ट्राफिक प्रहरीको कम जनशक्तिका कारण नियम पालनामा समस्या रहेको उनको भनाइ छ ।

View : 448

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved