Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

माघ २५ मा कोशी प्रदेशको हिउँदे अधिवेशन आह्वान

मन्त्री पराजुलीले हाल प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहको सभाहलमा अधिवेशनका बैठक बस्ने जानकारी दिए ।
उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन यहि माघ २५ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको माघ २५ गते अपरान्ह २ बजे अधिवेशन आह्वानको निर्णय गर्दै प्रदेश प्रमुखलाई सिफारिस गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले बताए ।

सोही सिफारिसको आधारमा आधारमा प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार प्रदेश सभा अधिवेशन आह्वान गरेको सूचना जारी गरेका छन् ।

मन्त्री पराजुलीले हाल प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहको सभाहलमा अधिवेशनका बैठक बस्ने जानकारी दिए । 

त्यसका लागि कोशी प्रदेश सरकारले विराटनगर महानगरपालिकालाई मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी वीरेन्द्र सभागृह भाडामा लिएको जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य ६ वटा महत्त्वपूर्ण निर्णयहरू समेत गरेको मन्त्री पराजुलीले बताए । 

सरकारले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२ लाई स्वीकृत गरेको उनले बताए । 

मन्त्रिपरिषद् बैठकले प्रदेशमा कानुनी सहायता सम्बन्धी व्यवस्था गर्नका लागि कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ ।

त्यस्तै, विकास आयोजनाहरूतर्फ नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनहरूलाई कर छुट दिने प्रस्ताव पारित गरेको छ । 

ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । उक्त कार्यक्रम अन्तरगत संघीय सरकारले ७७ करोड पूँजीगत र चालु ७० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

विपन्न नागरिकको आवासको अधिकार सुरक्षित गर्नका लागि कोशी जनता आवास सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०८२ लाई समेत मन्त्रिपरिषद्ले स्वीकृति गरेको मन्त्री पराजुलीले बताए ।

View : 203

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved