Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

सात वर्षदेखि खेलबिहीन बैजनाथपुर क्रिकेट रंगशाला

उद्‌घोष सम्वाददाता
२ मंसिर २०८०, शनिवार

विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट भएपछि खेलकुद संरचना निर्माणमा सरकार उदासिन भएको भन्दै चर्को आलोचना सुरु भयो । आलोचनापछि सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी निर्माण गर्ने कात्तिक २३ को मन्त्रिपरिषद् बैठकबाट सुखद निर्णय भएको सन्देश सार्वजनिक पनि गर्‍यो । 

राष्ट्रिय गौरवको आयोजनामा राखिएका तीनवटा रंगशालाहरुमध्ये विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर क्रिकेट रंगशाला पनि एउटा हो । सरकारको उक्त निर्णयपछि रंगशाला निर्माण हुने समाचारले क्रिकेटप्रेमीलाई केही आशा जगाएको छ । तर कहिलेदेखि निर्माण सुरु हुने र कहिले सकिने भन्ने अन्यौल भने हटेको छैन ।

२०७३ पुस ८ मा आयोजना भएको सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता पश्चात कुनैपनि क्रिकेट प्रतियोगिता बैजनाथफुर क्रिकेट रंगशालामा हुन सकेका छैनन् । त्यतिबेला राष्ट्रिय त्रिकेट टोलीका अधिकांश खेलाडीहरुले यो मैदानमा विभागीय प्रतिस्पर्धा गरेका थिए । 

उक्त प्रतियोगितापछि भने बैजनाथपुर रंगशाला भग्नावशेषसरह बनेको छ । निर्माण भएका संरचनाहरु पनि अलपत्र अवस्थामा रहेका छन् । रंगशालाभित्र धानखेती हुँदै आएको छ भने क्रिकेट मैदान गौचरण बनेको छ ।

बैजनाथपुर क्रिकेट रंगशालामा घेराबाराको काम भने भइसकेको छ । सातौं राष्ट्रिय खेलकुदमा बनाइएका केही खेल संरचना भने संरक्षण नहुँदा भत्किदा बिग्रदो अवस्थामा पुगेका छन् । क्रिकेट मैदानमा टर्फ विकेट प्रविधिको पिचसहित स्कोर बोर्ड, साइड स्क्रिनलगायतका संरचनाको रेखदेख र संरक्षण हुन सकेको छैन ।

पिचमा झार पलाएको छ । रंगशालाको नाममा रहेको १५ बिघा १५ धुर क्षेत्रफलभित्र बनेका खेल संरचनाहरू अहिले बेवारिसे बनेका छन् । सबैभन्दा टिठलाग्लो विषय– यो रंगशालामा सातौं राष्ट्रिय खेलकुदपश्चात कुनैपनि ठूलो खेल हुन सकेको छैन । 

बैजनाथपुर क्रिकेट रंगशाला निर्माणमा अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्देखि प्रदेश सरकार र स्थानीय सरकारको समेत करोडौं रुपैयाँ खर्च भइसकेको छ । क्रिकेट मैदानमा पिच निर्माण तत्कालीन प्रदेश १ सरकार (हाल कोशी प्रदेश) को पिच गर्न मात्रै ३० लाख रुपैयाँ बढी खर्च भएको थियो । त्यस बाहेक करोड बढि रकम रंगशालामा खर्च भइसकेको सरोकारवालाहरु बताउँछन् । 

तीनै तहका सरकारहरुले बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरी निर्माण गर्ने आश्वासन दिन छाडेका छैनन् । रंगशाला बनाउने विषयले राजनीति गर्ने मैदान त तयार भएको छ, खेलाडीहरुका लागि भने यो खेल मैदान प्रतियोगिताविहीन बनेको छ ।

जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबुले नियमित खेलहरु हुन सके रंगशाला आफै बन्दै जाने बताएका छन् । उनले क्रिकेट मैदानभित्र अत्यावश्यक केही मर्मतसम्भारको काम गर्दा प्रतियोगिताहरू खेलाउन सकिने अवस्थामै रहेको बताए ।

‘ग्राउण्डभित्र खासै थप काम छैन, अलिक मर्मत गर्दा मैदान तयार हुन्छ, क्रिकेट मैदान खेल्न योग्य बनिसकेको छ’ साद बाबुले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा गेम हुनुपर्‍यो, हरेक वर्ष गेम हुनुपर्छ, जहिले पनि मर्मतको कुरा हुने हो भने खेलाडीले त्यहाँ खेल्ने कहिले ?’

उनले ग्राउण्ड बाहिरका संरचना विस्तारै बनाउँदै खेलकुद प्रतियोगिताहरु भने सुरु हुनुपर्ने बताए । उनले भने, ‘हामीलाई त सबैभन्दा पहिलो कुरा क्रिकेट चाहिएको छ ।’

View : 153

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved