विराटनगर । मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा निर्माणाधिन ७० मिटर लामो मोडुलर पुल निर्माणकै क्रममा भाँचिदा तीनजना मजदुरको ज्यान गएको छ ।
दुर्घटनामा पुल निर्माणमा खटिएका थप तीन मजदुर घाइते भएका छन् ।
मुत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलालाल चौधरी, २२ वर्षीय राजा चौधरी र २२ वर्षकै रोकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले बताए ।
दुर्घटनापछि उद्दार गरेर उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज रेफर गरिएकोमा मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते हुनेहरू पनि सिमरा उपमहानगरपालिका–१२ कै हुन् । प्रहरीका अनुसार २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन् । उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
एउटा स्पान रहेको उक्त पुल जोड्ने क्रममा शनिबार अपरान्ह भाँचिएको थियो । नेपालमै यो मोडलको पहिलो पुल जडानका लागि भारतीय प्राविधिक टोलीको नेतृत्वमा काम भइरहेको थियो ।
२०८० सालमा बाढीले पक्की पुल बगाएपछि बेलिब्रिज लगाइएको थियो । त्यो बेलिब्रिज पनि २०८१ को बाढीले बगाएपछि आधुनिक प्रविधि भनिएको ७० मिटर लामो पुल जडान हुँदै थियो ।
तर उक्त पुल समेत निर्माणमै क्रममा भाँचिएको हो । पुल भाँचिनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
View : 461
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved