Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बीपीका चिकित्सक र कर्मचारी पुनः आन्दोलित

उद्‌घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारी पुनः आन्दोलित भएका छन् । वृत्ति बिकासको माग गर्दै यसअघि पनि आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पूरा नभएपछि सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत चिकित्सक तथा कर्मचारीले आइतबार बिहानसम्म कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए ।

तर कायममुकायम उपकुलपति कार्कीले माग पूरा गर्न बेवास्ता गर्दै बिदामा बसेपछि प्रतिष्ठानको आकस्मिक, आईसीयू, डाइलाइसिस वार्डमा भर्ना भएका विरामीहरु बाहेकको सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रिनु परेको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले जानकारी दिइन् । 

प्रतिष्ठानका शिक्षकहरुले पनि सेवा बहिष्कार गरेपछि पठनपाठन र परीक्षाका कार्यक्रमहरु पनि प्रभावित भएका छन् । वषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै शिक्षक र कर्मचारीहरुले पटक–पटक आन्दोलन गरेका थिए । गत कात्तिक २० गते आन्दोलनरत शिक्षक र कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टाछुट्टै ४ बुँदे सहमति गरेको थियो ।

सो सहमति वमोजिम आवश्यक विधि र प्रक्रिया पूरा गरेर पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुचारु गर्नुपर्ने भए पनि कार्यान्वयन नभएपछि पुनः उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनकारीहरुले कार्कीका लागि प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गर्दै उनलाई बर्खास्त गर्न कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचार गरेका छन् ।

View : 270

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved