Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मोरङमा एकै दिन तीनवटा पुलको उद्घाटन

उद्‌घोष सम्वाददाता
४ वैशाख २०८२, बिहिवार

विराटनगर । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मोरङको क्षेत्र नम्बर ५ मा बुधबार तीनवटा पुलको उद्घाटन गरेका छन् । 

मोरङको सीमावर्ती जहदा गाउँपालिकामा शहरी विकास मन्त्रालयले निर्माण गरेको तीनवटा पुलको मन्त्री सिंहले उद्घाटन गरेका हुन् ।

कटहरी गाउँपालिका वडा नम्बर २ र जहदा गाउँपालिका वडा नम्बर–४ जोड्ने लोहन्द्रा खोलाको कृपालघाट, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोला र जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल उद्घाटन गरिएको हो ।

उक्त तीनवटै ठाउँमा निर्माण भएको पुलले स्थानीयवासीको दैनिक जीवनमा ठूलो राहत पुगेको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले बताए । 

उनका अनुसार यी ठाउँहरूमा पुल नहुँदा बाह्रै महिना सर्वसाधारणले समस्या झेल्दै आएका थिए । 

बिरामीलाई समयमा उपचारका लागि लग्न नपाउँदा मृत्यु हुने, आगलागी हुँदा दमकल नजाने र वर्षायाममा अवागमन अबरूद्ध हुँदै आएको उनले बताए । 

यी पुलहरू निर्माण भएपछि सर्वसाधारणको आवागमनमा सहजताका साथै स्थानीय उत्पादनलाई समयमा नै बजार लगेर बिक्री गर्न पाउँदा स्थानीयको जीवनस्तर सुधारोन्मुख हुने भएको छ ।

सडक बाटो, पुल नहुँदा सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या भएको भन्दै सो क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन पहिलो काम सडक सञ्जाल भएको उनले बताए । 

प्रदेश सांसद अमृत अर्यालले कटहरी गाउँपालिकादेखि भारतीय सीमासम्मको सडक निर्माण गरी गणेशमानसिंह सडक नामकरण प्रस्ताव गरेको सडकको नाममा स्थानीयले समर्थन जनाउँदै उपप्रधानमन्त्री सिंहलाई चालु आबमा नै बजेट विनियोजन गरेर सडक निर्माण गरी गणेशमानसिंह सडक नामकरण गर्न आग्रह गरेका थिए ।

उपप्रधानमन्त्री सिंहले ग्रामीण क्षेत्रमा निर्माण भएको सडक र पुलले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे । 

परिश्रमी किसानले उत्पादन गरेको तरकारी लगायतका कृषिजन्य उत्पादन बजारसम्म लगेर सहज रूपमा बढी मूल्यमा बिक्री वितरण गरेर बढी भन्दाबढी मुनाफा कमाउन सघाउ पुग्ने बताउँदै सडक, पुल निर्माणले सर्वसाधारणको अवागमन सहज हुँदा आर्थिक गतिविधि बढ्ने उनको भनाइ थियो ।

ग्रामीण क्षेत्रमा निर्माण भएका पुल र सडकले एक स्थानीय तहदेखि अर्को स्थानीय तहलाई जोडनुका साथै अर्थतन्त्रमा टेवा पुग्ने र सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्ने उनले स्पष्ट पारे ।

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved