Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

‘देश बनाउने’ र ‘देश जलाउने’ भाष्यको लडाँइ

काठमाडौं महानगरपालिकाको प्रमुख रहदा संघीय सरकार र स्थानीय तहबीचको अधिकारका विषयमा विवाद बारम्बार सार्वजनिक भएको थियो ।  महानगरको निर्णयमा केन्द्रको हस्तक्षेप भएको भन्दै बालेनले असन्तुष्टि जनाउने गरेका थिए भने संघीय नेतृत्वले स्थानीय तहको कार्यशैलीप्रति प्रश्न उठाउने गरेको थियो ।
उद्‌घोष संवाददाता
१५ फागुन २०८२, शुक्रवार

दमक (झापा) । इलाम चुलाचुलीको फेदैमा रहेको दुम्से जङ्गल नजिकै रहेको सुकुम्वासी बस्ती दमक नगरपालिकाको ३ नम्बर वडामा पर्छ । त्यही बस्तीकी ५१ वर्षीया मालतीदेवी राई गोठमा गाईलाई घाँस हालिरहेकी थिइन् । 

चुनावी कुराकानी सुरु गरेपछि आफूलाई केही थाहा नभएको भन्दै पन्छिन खोजिन् । आफू घरमै बस्ने भएकाले राजनीतिको कुनै कुरा थाहा नहुने उनले सुनाइन् । 

‘तैपनि, आफ्नो क्षेत्रमा उठेका कोही न कोही उम्मेदवार त मन परेको होला नि ?’

उद्घोषको यो प्रश्नपछि उनले जे जस्तो उत्तर दिइन्, त्यसले उनले हामीसँग खुल्न मात्रै नचाहेको तर राजनीतिबारे ‘धेरै थाहा भएको’ जनाउँथ्यो । 

‘देश जलाउने भन्दा देश बनाउने मान्छे मनपर्छ नि सबैलाई’, उनले आफ्नो मात्रै होइन अरुको पनि उस्तै कुरा भएको दाबी अघि सार्दै भनिन् ‘ओलीबा (केपी शर्मा ओली) देश बनाउने मान्छे हो । बालेन (बालेन्द्र शाह) देश जलाउने मान्छे हो । त्यसैले मलाई ओली बा नै मनपर्छ ।’

उनीसित गफिइरहँदा अर्की छिमेकी महिला मञ्जुदेवी कोइराला पनि कुराकानीमा सामेल भइन् । उनको मत पनि फरक थिएन । 

‘हामीले काठमाडौका सुकुम्वासी बस्तीमा बालेनले डोजर लगाएको नसुनेको हो र’ उनले थपिन् ‘हामी पनि सुकुम्वासी हौं, हामी जस्तै मान्छे लखेटेर आएका बालेन मन पर्दैन ।’

दमक–३ का यी दुई महिला पहिलेदेखि नै एमालेलाई मत दिदै आएका मतदाता हुन् ।

उनीहरुको भनाइले देखाउँछ , झापा ५ मा एमालेले आफना समर्थक माझ रास्वपा उम्मेदवार बालेन शाह ‘देश जलाउने र सुकुम्वासी खेदाउने’ मान्छे भनेर व्यापक प्रचार गरेको छ । 

यो क्षेत्रमा एमाले उम्मेदवारसमेत रहेका पार्टी अध्यक्ष ओलीले बारम्बार यही कुरा दोहोर्‍याउँदै आएका छन् ।

आफ्नी पत्नी चढेको गाडी प्रहरीले रोक्दा सिंहदरबार जलाउने धम्की दिएका बालेनमाथि भदौ २४ मा ‘देश जलाएको’, ‘जलाउन उक्साएको’ आरोप आलोचकहरुले लगाउँदै आएका छन् । 

एमाले पङ्तिले झापा–५ को दमकदेखि गौरीगञ्जसम्मका हरेक टोलमा यही भाष्य स्थापित गर्ने प्रयास गरिरहेको देखिन्छ ।

बालेनसहितको रास्वपा टोली भने भदौ २३ मा भएको नवयुवाहरुको ज्यान गएको घटनाको दोष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थोपर्ने प्रयासमा छ । यसका लागि उसले सामाजिक सञ्जालको उपयोग जति गरेको छ, घरदैलो क्रममा पनि त्यसै भनिरहेको छ । 

खासगरी नयाँ पुस्तामाझ यो भास्य स्थापित गर्न सकेको बालेन टोलीले तिनका अभिभावकलाई भने मनाउन सकेको देखिन्न । 

‘मेरा छोराहरु घन्टी भन्दै हिडेका छन्, ओलीले मान्छे मारेको पनि भन्छन् । तर, संसद भवन आगो लाउन जानेलाई पुलिसले बाँकी राख्छ त’, दमक–६ का रङ्गनाथ काफ्लेले भने ‘अहिले बालेनले बनाएको सरकार छ । 

सरकारले बनाएको छानविन समिति छ । त्यसले दूधको दूध पानीको पानी निकालेर किन ओलीलाइ कारबाही नगरेको त ? संसद र सिंहदरबार जलाउन आप्mना मान्छे सहभागी देखिएपछि प्रतिवेदन रोकिएको हो कि होइन ?’

उनका छोरा भवेष काफ्लेले भने बुवाको कुरामा असहमति प्रकट गरे ।  

‘हामी जस्तै युवाले मागेको के थियो ? सामाजिक सञ्जाल बन्द नगर त भनेको हो । तर, त्यति धेरै मान्छे किन मारेको ? ल मान्छे नमारेको नै हो रे, यतिका वर्ष ती नेता र पार्टीले के गरे ? जे सुकै भए पनि एकपटक नयाँलाई हेरौं भन्ने हो । बुवा आमा मान्नुहुन्न ।’ 

यति भनेर उनी मज्जाले हाँसे । बुवा रङ्गनाथ भने केटाहरुलाई कुरा बुझ्न समय लाग्ने भन्दै आफ्नै दाबीमा अडिग देखिए ।

दमकमा देखिएको यो दृश्य एउटा प्रतिनिधिमुलक दृष्टान्त मात्रै हो, यहाँको चुनावी माहोल यसैगरी दुई ध्रुवमा ध्रुविकृत देखिन्छ । 

देश जलाउने र देश बनाउने, मान्छे मार्ने र परिवर्तन ल्याउने भन्ने भास्यलाई एमाले र रास्वपाले जोड्तोडले उठाइरहँदा अन्य दलका उम्मेदवारहरुको चर्चा छोपिएको छ । 

युवा उम्मेदवार अघि सारेका नेकपा र श्रम संस्कृति पार्टीका नेताहरु आफ्नो दलले जित्ने दाबी गरिरहेका भेटिन्छन् ।

महिला उम्मेदवार अघि सारेको कांग्रेस चर्चाले चुनाव नजितिने बताउँछ । 

‘चर्चा कसको छ भन्ने कुराले चुनावी नतिजामा खास फरक पार्दैन’ दमक नगरकी उपमेयर समेत रहेकी कांग्रेस नेतृ रेगिना भट्टराईले भनिन् ‘सबै मतदाता दलको कार्यकर्ता हुन्नन् । समर्थक, शुभेच्छुकहरुको मत निर्णायक हुने हो । त्यसैले चर्चा कसको छ भनेर अहिल्यै अनुमान लगाउने कुरा सही होइन ।’

अन्य दलहरुले यस्तो दाबी गरिरहे पनि  झापा ५ ले सबैको चासो बटुल्ने मुख्य कारण ओली र बालेन नै बनेका छन् । 

नेपाली राजनीतिका स्थापित नेता ओली अनि ¥यापर पृष्ठभूमिका काठमाडौंका निवर्तमान मेयर बालेनबीचको यही चर्चाले झापा ५ लाई चुनावी इपिसेन्टर (केन्द्रविन्दु) बनाइदिएको छ । 

यो क्षेत्र  लामो समयसम्म केपी शर्मा ओलीका लागि सबैभन्दा सुरक्षित राजनीतिक आधारभूमि मानिन्थ्यो ।

२०४८ सालदेखि यता सातपटक चुनावी मैदानमा उत्रिएका ओलीले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक सबै प्रतिस्पर्धामा विजय हासिल गरेका थिए । 

बलियो संगठन, स्थायी मताधार र नेतृत्वको प्रभावका कारण यो क्षेत्र चुनावी प्रतिस्पर्धाभन्दा बढी औपचारिक प्रक्रिया जस्तै देखिन्थ्यो । अन्य क्षेत्रहरूमा जस्तो मतान्तरको अनुमान, गठबन्धनको गणित र प्रतिस्पर्धाको रोचकता यहँ विरलै देखिन्थ्यो ।

तर, यसपटकको प्रतिनिधिसभा निर्वाचनले त्यो स्थिर चित्रलाई हल्लाएको छ ।

झापा–५ अहिले राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको छ । यसको मुख्य कारण बनेका छन् बालेन ।

युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका शाहको उम्मेदवारीले लामो समयदेखि एकतर्फी देखिएको प्रतिस्पर्धालाई खुला द्वन्द्वमा रूपान्तरण गरेको छ ।

यसअघि सहज रूपमा जित्दै आएका ओली यसपटक भने फरक राजनीतिक मनोविज्ञानको सामना गरिरहेका छन् ।

यो परिवर्तन केवल नयाँ उम्मेदवारको उपस्थितिको परिणाम मात्र होइन । पछिल्ला वर्षहरूमा विकसित राजनीतिक घटनाक्रमले पनि यो प्रतिस्पर्धालाई फरक बनाएको छ ।

जेन–जी आन्दोलनका बेला सरकारको नेतृत्व गरेका कारण ओलीमाथि त्यस घटनाको राजनीतिक दायित्व जोडिएको छ ।

आन्दोलनपछि उत्पन्न असन्तुष्टि र युवापुस्ताको आक्रोशले परम्परागत नेतृत्वप्रति प्रश्न उठाएको थियो ।

त्यसको विपरीत, शाहले आफूलाई परिवर्तन र नयाँ सोचको प्रतिनिधिका रूपमा प्रस्तुत गर्न सफल भएका छन् । 

आन्दोलनमा सक्रिय देखिएको युवा पंक्तिको समर्थनले उनको उम्मेदवारीलाई थप ऊर्जा दिएको छ ।

अघिल्ला निर्वाचनहरूमा विभिन्न दलसँग तालमेल गर्दै आएका ओली यसपटक भने एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । यसले विगतमा साझा उम्मेदवार नउठाएका दलहरूलाई पनि चुनावी मैदानमा ल्याएको छ ।

परिणामतः मत विभाजनको सम्भावना बढेको छ । वैकल्पिक राजनीतिक शक्ति, स्वतन्त्र उम्मेदवार र नयाँ मतदाताको सक्रियताले चुनावी समीकरणलाई अझै अनिश्चित बनाएको छ ।

लामो समयसम्म स्थिर देखिएको मताधार अहिले चलायमान अवस्थामा पुगेको  छ ।

ओली र बालेनबीचको सम्बन्ध विगतदेखि नै टकरावपूर्ण रहदै आएको थियो । काठमाडौं महानगरपालिकाको प्रमुख रहदा संघीय सरकार र स्थानीय तहबीचको अधिकारका विषयमा विवाद बारम्बार सार्वजनिक भएको थियो । 

महानगरको निर्णयमा केन्द्रको हस्तक्षेप भएको भन्दै बालेनले असन्तुष्टि जनाउने गरेका थिए भने संघीय नेतृत्वले स्थानीय तहको कार्यशैलीप्रति प्रश्न उठाउने गरेको थियो । 

त्यही असहज सम्बन्ध अहिले औपचारिक चुनावी प्रतिस्पर्धामा परिणत भएको छ । बालेनले आफ्नो लोकप्रियतालाइ देशभर फैलाउन जोडबल लगाएका छन् । 

कोशी प्रदेशकै अन्य जिल्लामा पनि यसको प्रभाव देखिन्छ । २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा कोशी प्रदेश अन्तर्गतका जिल्लाहरूमा एमालेले उल्लेखनीय सफलता हासिल गरेको इतिहास छ । यही आधारभूमिमा एमालेले अहिले चुनौती महसुस गरेको छ ।

यसै पनि प्रदेश नामकरणको विषयले पनि चुनावी बहसलाई प्रभावित पारेको छ । 

कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधर समूहहरूले विभिन्न स्थानमा आन्दोलन गरेका थिए । एमाले नेतृत्वले नामकरणको पक्षमा दृढ अडान राखेपछि आन्दोलन झन् तीव्र बनेको थियो । 

पहिचानको मुद्दाले पूर्वी नेपालमा राजनीतिक ध्रुवीकरण बढाएको थियो, जसको प्रभाव अहिलेको चुनावमा पनि देखिने अनुमान गरिएको छ । तर, पहिचानको आवाज यो चुनावमा मलिन सुनिन्छ ।

View : 102

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved