सुनसरी । इटहरी उपमहानगरपालिकाको बजेटलाई लिएर नगरप्रमुख र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बीचको बिवाद उत्कर्षमा पुगेको छ । विवाद उत्कर्षमा पुगेपिछ दुबै पक्ष अर्का बिच आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर प्रमुख हेमकर्ण पौडेलले ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन खोजेको आरोप लगाएका छन् ।
एमाले इटहरी उपमहानगरपालिका संसदीय दलका नेता प्रमोद शेर्पाले यथार्थमा आधारित स्रोतको अनुमान नगरी एक पक्षिय रुपमा ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन लागेको आरोप लगाए ।
नेता शेर्पाले भने,‘चालु आर्थिक बर्षमा अनुमानित भन्दा धेरै कम आय प्राप्त हुदा अहिले ठुलो रकम भुक्तानी गर्न नसकेको अवस्थामा पुनः ठुलो आकारको बजेट ल्याएर इटहरीलाई आर्थिक रुपमा डुबाउन लागिएको छ । हामी त्यो हुन दिनेछैनौं ।’
सोमबार मात्रै नगरप्रमुख हेमकर्ण पौडेलले एमाले जनप्रतिनिधिको कारण ठुलो रकम भूक्तानी गर्न नपाएको आरोप लगाएका थिए । नगरप्रमुख पौडेलले बहुमतमा रहेका एमाले जनप्रतिनिधिहरुको दम्भले भुक्तानी दिन नसकेको आरोप लगाएका थिए । सोही विषयको खण्डन गर्दै एमाले नेता शेर्पाले भुक्तानी दिन एमालेले नरोकेको स्वयम नगरप्रमुख पौडेलले नै रोकेको प्रत्यारोप लगाएका छन् ।
एमाले इटहरी संसदीय दलका सचिव उमेश सुवेदीले नगरप्रमुख पौडेलले मनपरी भूक्तानी दिने गरेको गम्भिर आरोप लगाए । इटहरी वडा न. ३ का अध्यक्ष समेत रहेका सुवेदीले भने, ‘भुक्तानी रोक्ने काम स्वयम मेयरबाट भएको छ, कतिपय भूक्तानीहरु टेबलमुनि र माथीबाट दिइने गरिएको छ, मेरै वडाका कतिपय भूक्तानी रोकिएको छ’ उनले भने ‘आफ्ना नजिकका मान्छेका फाइलहरुको भुक्तानी छिटै हुन्छ, अरुको भुक्तानी आफु अनुकुल नहुँदासम्म रोकिदिने गरिएको छ, फागुनदेखीका फाइलहरु रोकिएका छन् ।’
पत्रकार सम्मेलनमा जेष्ठ १७ गते सम्म पूर्वाधार तर्फको मात्रै १ अर्ब ५१ करोड र अन्य तर्फ २८ करोड भुक्तानी दिन बाँकी देखिएको जानकारी दिइयो ।
एमाले जनप्रतिनिधिहरुले मेयर पौडेलले एक पक्षीय रुपमा ल्याएको बजेट पुनः पुरानै प्रक्रियाबाट अगाडि बढाउन माग गरेका छन् । बजेट पुनः पुरानै प्रक्रियामा फर्काएर पारित गर्न कानुनले दिएको अधिकार प्रयोग गर्दै कानुनी लडाई लड्ने उनीहरुले चेतावनी दिएका छन् ।
उनीहरुले उपमहानगरका प्रमुख प्रशाशकिय अधिकृत रामचरित्र मेहेता र अधिकांश कर्मचारी नगर प्रमुखको इसारामा चल्ने गरेको गम्भीर आरोपसमेत लगाए । नगरप्रमुखले मनलाग्दी गर्दा समेत प्रमुख प्रशासकिय अधिकृत मेहेताले थपडी बजाउने गरेको उनीहरुको आरोप छ ।
View : 157
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved