Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

२९९ जनाले लिए सेवा, ६४ जनालाई निःशुल्क चश्मा

प्रहरी लक्षित आँखा शिविर कोशीबाट सुरु

२३ वैशाख २०८३, बुधवार

विराटनगर ।  नेपाल प्रहरी र नेपाल नेत्र ज्योति संघको सहकार्यमा प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका लागि लक्षित गर्दै देशव्यापी निःशुल्क आँखा स्वास्थ्य सेवा अभियान कोशी प्रदेशबाट सुरु भएको छ। मंगलबार विराटनगरमा आयोजित एक निःशुल्क आँखा शिविरमार्फत साे अभियानको औपचारिक शुभारम्भ गरिएको हो।

नेपाल प्रहरी कोशी प्रदेश कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालित  साे शिविरमा बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी तथा उनीहरूका परिवारलाई सेवा प्रदान गरिएको थियो।

शिविरमा कुल २ सय ९९ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये परीक्षणका क्रममा ११२ जनामा दृष्टिदोषको समस्या देखिएको थियो भने २ सय ६० जनालाई निःशुल्क औषधि वितरण गरिएको छ।

त्यस्तै, ६४ जनालाई चश्मासहित आवश्यक आँखा स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

सातै प्रदेशमा सेवा विस्तार गर्ने सम्झौता

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघबीच देशभरका बहालवाला तथा पूर्व प्रहरी कर्मचारी, तिनका आश्रित परिवार र सर्वसाधारणलाई सातै प्रदेशमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने दीर्घकालीन सम्झौता भएको थियो। सोही सम्झौतालाई कार्यान्वयन गर्ने क्रममा कोशी प्रदेशबाट यस कार्यक्रमको थालनी गरिएको हो।

कार्यक्रमको औपचारिक शुभारम्भ नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरे र नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव भरत चन्दले संयुक्त रूपमा गरेका थिए ।

समयमै रोग पहिचान र उपचारमा जोड

कार्यक्रममा बोल्दै विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीले शिविरलाई सफल बनाउन निःस्वार्थ भावनाका साथ खटिने विशेषज्ञ चिकित्सक, प्राविधिक टोली तथा सम्बन्धित सबैको योगदानको उच्च प्रशंसा गर्नुभयो।

त्यसैगरी, नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेष मिश्रले यस्ता स्वास्थ्य शिविरमार्फत आँखासम्बन्धी विभिन्न समस्या समयमै पहिचान हुने बताए ।

उनले समयमै उपचार तथा उचित परामर्श प्राप्त हुने भएकाले यस अभियानले प्रहरी कर्मचारी र उनीहरूका परिवारको समग्र स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

उक्त शिविरमा विराटनगर आँखा अस्पतालको प्राविधिक टोलीसँगै अस्पतालका प्रबन्धक कुमार पृथु लगायतको सक्रिय उपस्थिति रहेको थियो।

View : 289

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved