Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

झापा गोल्डकपको उपाधि उचालेको भोलीपल्टै चर्च ब्वाईजलाई झड्का

बुढासुब्बा गोल्डकपमा काँकडभिट्टासँग पराजित भएपछि खेलबाटै बाहिरियो
उद्‌घोष संवाददाता
२९ फागुन २०८०, मङ्गलवार

Advertisement

सुनसरी, २९ फागुन । झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

धरान रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग १–० गोल अन्तरले पराजित हुँदै क्वाटर फाइनलबाटै बाहिरिएको हो । चर्च ब्वाईजले सोमबारमात्रै झापा गोल्डकपको उपाधि उचालेको थियो ।

चर्च ब्वाइजलाई पराजित गर्न काँकडभिट्टाका आशिष चापागाइँले निर्णायक गोल गरे । अभिषेक गुरूङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले खेलको ४४ औं मिनेटमा गोल गरेका हुन् । झापा गोल्डकप फाइनल खेलेर धरान पुगेको चर्च ब्वाइजका खेलाडी २४ घण्टा नबित्दै अर्को खेल खेल्नुपर्दा निकै थकित देखिन्थ्ये । 

पहिलो हाफमा फितलो प्रदर्शन गरेको चर्च ब्वाइजले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि नतिजा उल्टाउन सकेन । झापा गोल्डकप च्याम्पियन बनाउन गोल गरेका राजेश परियार र बिदेशी खेलाडी अबियानी ओलावासेनले विपक्षीको पोष्टमा कुनै आक्रमण बुन्न सकेनन् । 

दोस्रो हाफमा चर्चले विपक्षी पोष्टमा दुईवटा माक्र आत्रण बुन्न सकेपनि गोल गर्न चुक्यो । ५४ औं मिनेटमा किपर बिट भइसकेको अवस्थामा राजेश परियारले गरेको हेड बललाई काँकडभिट्टाका देबन्द्र तामाङले जोगाए । इञ्जुरी समयमा चर्चका गोलकिपर अगाडि बढेर गरेको हेड बल फ्रेममा पर्न सकेन ।

पहिलो हाफमा रक्षात्मक खेलेर एक गोल गरेको गत वर्षको उपबिजेता टिम काकडभिटाले दोस्रो हाफमा पनि रक्षात्मक खेल खेल्दै नतिजा आफ्नो पक्षमा पारेको हो । 
मंगलबारको खेलको म्यान अफ द म्याच झापाका बिशाल घलान घोषित भए । उनले नगद १० हजार पाए ।

अब काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले दोस्रो सेमिफाइनल खेलमा न्यूरोड टिम एनआरटीसँग बिहीबार प्रतिष्पर्धा गर्नेछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । 

त्यसअघि बुधबारको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिष्पर्धा हुनेछ ।

आयोजकले पाहुना टोली युकेएफसी भारतलाई र मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रूपैयाँ तथा उपविजेताले ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

View : 2993

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved