विराटनगर । आगामी शुक्रबार (पुस ६) देखि सुरू हुने औद्योगिक व्यापार मेला मोरङ व्यापार संघ एक्स्पो-२०२३ सुरू हुनु अगावै सबै स्टलहरू बुकिङ भएको छ। सबै बुकिङ भएपछि स्टलहरू थपिने भएको छ । संघका अध्यक्ष नवीन रिजालका अनुसार एक्स्पोमा बुकिङका लागि राखिएका सबै स्टल बिक्री भइसकेको र थप स्टलको माग भएकाले स्टल थप्ने तयारी गरिएको छ ।
मोरङ व्यापार संघले यस वर्षदेखि संघकै नामबाट गर्न लागेको एक्स्पोमा स्टल राख्न उद्योग तथा व्यापारीहरूलाई आह्वान गर्दै स्टल बुकिङ खुला गरिएको थियो । १० दिनसम्म सञ्चालन हुने एक्स्पो विराटनगर-२ शंकरपुर मार्गमा हुँदैछ ।
एक्स्पोमा अत्याधुनिक डोमभिक्र २ सय १० वटासहित २ सय ५० वटा स्टल रहने संघले जनाइसकेको छ । तर ती सबै स्टलहरू बिक्री भएका कारण थप्ने निर्णय गरिएको अध्यक्ष रिजालले बताए ।
कोशी प्रदेशको व्यापार प्रवर्द्धन र आर्थिक क्षेत्रको विकास गर्ने उद्देश्यले संघले आफ्नै नामबाट एक्स्पो आयोजना गर्न लागेको हो । एक्स्पोमा स्टल राख्नका लागि उद्योगी तथा व्यवसायिक क्षेत्रबाट सोचेभन्दा बढी चासो व्यक्त भएकोले स्टल थप्नु परेको उनले जानकारी दिए ।
एक्स्पो आयोजना हुने ठाउँमा आवश्यक तयारी तीव्र बनाइएको एक्स्पोका संयोजक तथा मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताए । उनका अनुसार ग्रामीण क्षेत्रका कृषि उद्यमीहरूका लागि एक्स्पोमा १० वटा स्टल भने निःशुल्क व्यवस्था गरिएको छ ।
करिब ४ लाख जनाले अवलोकन गर्ने अनुमानसहित एक्स्पोको तयारी भइरहेको सहसंयोजक एवं संघका सचिव संजय श्रेष्ठले बताए । उनका अनुसार स्वदेशी उत्पादन, कृषि, पर्यटन, ऊर्जालगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धनमा जोड दिइएको एक्स्पोबाट १५ करोडको कारोबार गर्ने लक्ष्य छ।
View : 146
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved