Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जाँचबुझमै हरायो ७६ हजार भारु

उद्‌घोष सम्वाददाता
२८ माघ २०८०, आइतवार

विराटनगर । सुरक्षाकर्मीले जाँचबुझ गर्ने क्रममा भारतबाट नेपाल आएको एक परिवारको ७६ हजार भारतीय रुपैंयाँ बेपत्ता भएको छ । उनीहरुले बोकेको ११ लाख रुपैयाँको बिटामा १० लाख २४ हजार मात्रै फेला परेपछि रकम जाँचमै गायव भएको अनुमान गरिएको छ ।

भारत बिहारको राजधानी पटनाबाट शनिबार बिहान ६ बजे आएको चार जनाको समूह विराटनगर भन्सार नजिकैबाट नेपाल प्रवेश गरेको थियो । ७० वर्षीय महिनारायण देवसँग उनकी छोरी, बच्चा र अन्य एक जना बिरामी ब्यक्तिसँगै आएका थिए । साढे ६ बजे विराटनगर–१६ दक्षिणद्वारबाट सशस्त्र प्रहरीले उनीहरुलाई रकमसहित नियन्त्रणमा लिएर कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

अबैध रुपमा यतिका भारतीय रुपैयाँ लिएर नेपाल प्रवेश गरेको पाएपछि प्रस्तावित गुल्म रानीका सशस्त्र प्रहरीले उनीहरुलाई रकमसहित नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका सुरक्षाकर्मीले उनीहरुलाई जाँच गरी छाडेपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुका साथमा ५ सय दरका भारु नोटको २२ विटा रहेको थियो ।

जाँचकै क्रममा नगद रकमको बिटाबाट रकम धनीले निकालेर दिएको हुन सक्ने बताइएको छ । देव परिवारले यस बारे केही पनि बताएको छैन । सीमामा खटिएका सुरक्षाकर्मीलाई देव परिवारले रकम दिएको वा सुरक्षाकर्मीले निकालेको हुनसक्ने अनुमान गरिएको छ । सशस्त्र प्रहरीका ३ नम्बर गण हेटक्वाटर मोरङका उपरीक्षक तीर्थ थापाले गोप्य सूचना आएपछि उनीहरुलाई नियन्त्रणमा लिएर राजश्वमा बुझाइएको बताए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार विराटनगरमा चार तला घर बनाउँदै गरेको सो परिवार भारतीय रुपैयाँ बोकेर नेपाल प्रवेश गर्दै थियो । एकाबिहानै नेपाल प्रहरीका सुरक्षाकर्मीले जाँचका क्रममा रकम लिएर उनीहरुलाई छाडेको हुनसक्ने सशस्त्र स्रोतले जनाएको छ । ‘बिहान ड्युटीमा रहेको प्रहरीले छाडेको थाहा पाएपछि सशस्त्रले उनीहरुलाई रोकेको हो’ स्रोतले भन्यो ।

मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले भनें सो रकम बारे नेपाल प्रहरीलाई औपचारिक जानकारी नभएको बताए । उनका अनुसार सीमामा पहिलो चरणमा सशस्त्र प्रहरी  जाँचमा बसेको हुन्छ । त्यसपछि मात्रै नेपाल प्रहरी रहेको हुन्छ । नेपाल प्रहरीका सुरक्षाकर्मीले नदेख्ने गरी भारतीय रुपैयाँ बोकेका ब्यक्तिहरु नेपाल भित्रिएको हुनसक्ने उनले बताए ।

View : 176

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved