विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो ।
सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा खरले छाएको घर छ । मेयर कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको घर पुगेका थिए ।
सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले तत्कालै स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउन समेत सक्दिनन् ।
गत असार २० गते घाँस काट्न गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो । सिकिस्त बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै थलिएकी थिइन् ।
लगातार ओछ्यानमै थलिएपछि उनको शरीरका विभिन्न भागमा घाउ निस्किएर कुहिंदै गएको थियो । बिरामीका श्रीमान रोहित सहनी ठेला चलाएर परिवारको परिवारको जीविकोपार्जन गर्दै आएका छन् ।
बिरामीको हालत दिनदिनै गम्भीर हुँदै गएपछि श्रीमान रोहित सहनी श्रीमतीको ज्यान जोगाइदिन भन्दै आइतबार महानगरपालिकालाई गुहार्न पुगेका थिए ।
सहनी परिवारको अवस्था बुझेपछि मेयर कोइराला स्वास्थ्य महाशाखा प्रमुख हैदर अली र चिकित्सकको टोली लिएर सोमबार बिहानै सहनीको घर पुगेका हुन् ।मेयरको निर्देशनपछि महानगरको एम्बुलेन्समा राखेर सहनीलाई कोशी अस्पताल पुर्याइएको थियो ।
View : 159
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved