विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको मानगढ खानेपानी आयोजनाको निर्वाचनका लागि चाँडो मिति घोषणा गर्न उम्मेदवारहरूले माग गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार लालमणि भट्टराईसहितको नेतृत्वमा आइतबार खानेपानी आयोजनाको कार्यालयमा पुगेर वर्तमान् तदर्थ समिति तथा आयोजनाका व्यवस्थापनमा संलग्न व्यक्तिहरूलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
अध्यक्षका उम्मेदवार भट्टराईसहित उपाध्यक्षका उम्मेदवार बुद्धिप्रसाद पौडेल, सावित्रा कुमारी न्यौपाने, सचिवका उम्मेदवार प्रदीपकुमार नेपाल, कोषाध्यक्ष पदका उम्मेदवार हिरण्य निरौला, सदस्य पदका उम्मेदवारहरू तुलसीप्रसाद दाहाल, शान्ती बस्नेत रिजाल, टंक पाठक र अञ्जु तिम्सिना (कटुवाल) ले ध्यानाकर्षण गराएको जनाइएको छ ।
खानेपानीको निर्वाचनका लागि २०८१ जेठ १९ मा भएको मतदानमा सबै उपभोक्ताले मतदान गर्न नपाएपछि विवादित बनेको थियो । उक्त विवाद उच्च अदालत विराटनगरसम्मै पुगेको थियो ।
उच्च अदालत विराटनगरले २०८१ फागुन २६ मा फैसला गर्दै २०८१ जेठ १५ गते विहान ५.०० वजेसम्म कायम रहेका मतदाता (उपभोक्ता) नै मतदाता कायम हुने गरी तीन महिनाभित्र पुनः निर्वाचन गराउन आदेश दिइसकेको छ । सोही आदेशपछि अहिले उम्मेदवारहरू पुनः मत माग्ने अभियानमा केन्द्रित बनेका छन् ।
उम्मेदवारहरूले उच्च अदालतको फैसलाको आधारमा यथासिघ्र निर्वाचनको मिति घोषणा गर्न वर्तमान् तदर्थ समितिको ध्यानाकर्षण गराएका हुन् ।
गर्मीको समय र उपभोक्ताहरूको सहजताको समयलाई दृष्टिगत गरी यथासिघ्र सबैसँग सहकार्य गरी निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।
उनीहरूले गत निर्वाचनमा कमजोर व्यवस्थापनका कारण समस्या भएको भन्दै आगामी निर्वाचनमा सोही प्रकारको गल्ती पुनः नदोहोरिने गरी निर्वाचनको तयारी गर्न तदर्थ समितिलाई ध्यानाकर्षण गराएको अध्यक्षका उम्मेदवार लालमणि भट्टराईले बताए ।
‘हामीले गराएको यो ध्यानाकर्षणको बेवास्ता गरी पछि कुनै किसिमको असहज परिस्थिति सिर्जना हुन गएमा त्यसको सम्पूर्ण जिम्मेवार संस्थाको तदर्थ समिति नै हुने ब्यहोरा समेत जानकारी गराएका छौं’ उनले भने, ‘मतदानस्थल प्रहरी प्रशासनको पूर्ण सुरक्षामा हुनुपर्दछ, साथै उपभोक्ता (मतदाता) लाई पायक पर्ने र फराकिलो ठाउँमा मतदान गर्ने व्यवस्था गर्न भनेका छौं ।’
उम्मेदवारहरूले वर्णानुक्रमका आधारमा उपभोक्ताको नामावली प्रकाशन गर्न, सोही आधारमा मतदाताको लाइन र मतपेटिका राख्न, ज्येष्ठ नागरिक तथा असक्त उपभोक्तालाई छुट्टै लाइन व्यवस्था गर्न, निर्वाचन हुनुभन्दा सात दिन अगावै उपभोक्तालाई फोटो सहितको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् ।
त्यस्तै निर्वाचन समिति गठन गर्दा कानुन सम्मत काम गर्न सक्ने सक्षम र निस्पक्ष काम गर्नसक्ने व्यक्तिलाई छनौट गर्न, गत निर्वाचनको कमजोरीलाई समीक्षा गरी सोही अनुसार व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरूले गुणस्तरहिन मतदान सामग्रीको प्रयोग नगर्न, मतदाताहरूलाई मतदान स्थलभन्दा अलग स्थानमा पिउने पानीको उचित व्यवस्थापन गर्नसमेत तदर्थ समितिको ध्यानाकर्षण गराइएको जनाइएको छ ।
View : 63
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved