काठमाडौँ, १० असोज । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)द्वारा आज राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए ।
उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकामा जोड दिए ।
संविधानले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई सङ्घ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीनवटै तहका सरकारको समन्वय तथा सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तीनवटै सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।
“विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैह्रसरकारी क्षेत्रअन्तर्गतका विभिन्न सङ्घ, संस्थाहरुले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन्”, उनले भने, “युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं वस्थापनका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।”
गृहमन्त्री लेखकले ‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकायसँगको सहकार्य तथा निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताए ।
परियोजनाले सङ्घलगायत आठ स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन क्षेत्रको संस्थागत विकासमा पु¥याएको योगदानको उनले प्रसंशा गरे ।
अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजनामार्फत उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिनुका साथै आगामी दिनमा समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे । रासस
View : 295
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved