काठमाडौं । प्रतिपक्ष दल नेकपाका राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरुको सवारी साधनका लागि साईकलको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
सरकारले अर्बौंको गाडीहरु खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरु र सांसदहरु पनि जेन–जी पुस्ताका भएकाले उनीहरुका लागि साईकलको व्यवस्था गर्न उपयुक्त हुने बताएका हुन् ।
बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाउनेहरुले फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए ।
उनले नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद विश्वकर्माले भने, ‘सुशासनको बैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरु किन्दैछ भन्नेकुराहरु आईराखेको छ । अर्बौं को गाडीहरु जलाएर खरानी बनाएको छ । र फेरि अर्बौंको गाडी किन्दैछ भन्ने खवरले सनसनी पैदा गराएको छ । आज सुकुम्बासीहरु खाना नपाएर तडपी रहेका छन । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर विरामी परिरहेका छन । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दैछ । यो बिडम्बना हो । हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अव मन्त्री, सांसदहरु जेन–जी हुनुहुन्छ । साईकल किन्नु पर्यो अव । साईकल किनेर सरर हिन्ने । साईकलमा जाने, साईकलमा नै आउने । बरु चन्दाबाट पुनर्निर्माण भए सिंहदरवार पनि यहीबाट निर्माण होस । म यहीँ भन्न चाहन्छु हाम्रो सरकारलाई ।'
सांसद विश्वकर्माले सरकारले सुशासनको कुरा गरेपनि सोही अनुसारको व्यवहार देखाउन नसकेको जिकिर पनि गरे । न्युज एजेन्सी नेपाल
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved