Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

भोजपुरको दुर्गम बोयामा पहिलो पटक निःशुल्क आँखा शल्यक्रिया शिविर

शिविरमा ४६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि २१ जनाले भने सेवा लिन हिच्किचाए।
उद्‌घोष संवाददाता
८ असार २०८३, सोमवार

Advertisement

भोजपुर । भोजपुरको 'कर्णाली' भनेर चिनिने षडानन्द नगरपालिका–१४, बोयामा पहिलो पटक निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।

दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले आयोजित सो शिविरको उद्घाटन षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले गरेका थिए।

 

पहिलो पटक भित्रियो विशेषज्ञ सेवा

बोयाको भौगोलिक विकटताका कारण यहाँ हालसम्म आँखाको शल्यक्रिया शिविर सञ्चालन हुन सकेको थिएन। पहिलो पटक गाउँमै शल्यक्रिया सेवा पाएपछि स्थानीयवासी हर्षित भएका छन्।

 

नेपाल नेत्रज्योति संघ भोजपुरका अध्यक्ष तेज मोक्तानले आफू पहिलो पटक बोया आउँदा यहाँको भौगोलिक अवस्था बुझेको र यो क्षेत्र साँच्चिकै दुर्गम रहेको महसुस गरेको बताए।

 

मेची आँखा अस्पतालकी जनसम्पर्क अधिकृत कविता कार्की कडरियाको नेतृत्वमा आएको १३ सदस्यीय प्राविधिक टोलीले शिविरमा सेवा प्रदान गरेको थियो।

डा. रजनी केशरी नेतृत्वको विज्ञ टोलीले शिविरमा जटिल समस्या भएका बिरामीहरूको शल्यक्रिया गरेको हो।

 

टोली प्रमुख कार्की कडरियाले सुगमका बासिन्दा सहजै अस्पताल पुग्न सक्ने भए पनि यस्ता शिविरहरूको आवश्यकता दुर्गम क्षेत्रमा नै बढी रहेको बताइन्।

उनले भनिन्, "हाम्रो लागि शिविरमा कति जनाको जाँच भयो भन्नेभन्दा पनि कति गुणस्तरीय सेवा दिन सक्यौँ भन्ने कुरा बढी महत्वपूर्ण हो।"

 

स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा आयोजित यस शिविरमा झण्डै ४ सय जनाले आँखा परीक्षण गराए।

परीक्षण गरिएकामध्ये २० जनामा मोतियाविन्दु र ५ जनामा मासु पलाएको (प्टेरिजियम) समस्या देखिएकोमा सबैको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए।

शल्यक्रियाबाहेक अन्य बिरामीलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको छ।

 

शिविरमा ४६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि २१ जनाले भने सेवा लिन हिच्किचाए।

 

 

शल्यक्रिया गर्दा आँखा झन् बिग्रिने हो कि भन्ने भ्रम वा डरका कारण उनीहरू पछि हटेका थिए।

 

यसले दुर्गम भेगमा स्वास्थ्य सेवाको उपलब्धतासँगै जनचेतनाको स्तर उकास्न थप पहल आवश्यक रहेको देखाएको छ।

 

षडानन्द–१४ का वडाध्यक्ष झम्कबहादुर रोकाले भौगोलिक विकटताका कारण सुविधासम्पन्न अस्पतालसम्म जान नसक्ने नागरिकका लागि यो शिविर बरदान सावित भएको बताए।

कमलहरि खतिवडाको समन्वयमा सञ्चालित यस शिविरले ग्रामीण स्वास्थ्य सेवामा नयाँ आशा जगाएको छ।

 

View : 513

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved