Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उत्पादन र रोजगारमुखी मौद्रिक नीति आवश्यक : अध्यक्ष राठी

उद्‌घोष संवाददाता
१० असार २०८२, मङ्गलवार

विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले आगामी मौद्रिक नीतिले उत्पादन र रोजगारमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने सुझाव दिएका छन् । 

सोमबार आयोजित मौद्रिक नीतिसम्बन्धि छलफलमा अध्यक्ष राठीले निजी क्षेत्रको आसा अनुसार उद्योग व्यवसाय चलायमान हुने गरी नीति आवश्यक रहेको बताए ।

उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगीको भावनालाई आत्मसात गर्नुपर्ने, ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएका कारण निस्क्रिय कर्जाको दर बढेकोले त्यसलाई वर्गीकरण गर्नुपर्ने र कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने बताए ।

छलफलमा सहभागी उद्योगी व्यवसायीले व्यवसायमैत्री, लचिलो र स्थिर भई निजी लगानी आकर्षण गर्ने, साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिने, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन हुने उद्योगहरूलाई आगामी मौद्रिक नीतिले विशेष प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा वैंकर्सहरूले आगामी मौद्रिक नीतिले बैंकहरूबाट ऋण प्रवाहलाई अझ सहज बनाउने, विदेशी मुद्रा सञ्चिति सन्तुलनमा राखी बैंकिङ प्रणालीप्रति जनविश्वास अभिवृद्धि गराउने थप उपाय अवलम्बन गर्नेमा आशावादी भएको बताए ।

चाटर्ड एकाउन्टेन्ट अश्वनी वंसल, मनोज अधिकारी र तीर्थ यादव लगायतले मौद्रिक नीतिले निजी क्षेत्रको गतिविधिलाई मार्गदर्शन गर्ने मुख्य भूमिका निर्वाह गर्नसक्नु पर्ने सुझाव दिए । साथै नीति निर्माण गर्दा व्यावहारिक पक्ष, तथ्यांक र क्षेत्रगत आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

छलफलबाट प्राप्त भएका सुझावहरू समेतलाई समेटर संगठनले सुझावका रुपमा राष्ट्र बैंकमा पेश गर्ने तयारी गरेको संगठनका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए ।

View : 289

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved