Biratnagar, Morang, Nepal
४ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोलकाताबाट विराटनगर भन्सार यार्डमै आउँदैछ पहिलो कार्गो रेल

उद्‌घोष संवाददाता
३ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलो पटक औपचारिक रूपमा कार्गो रेलसेवा सञ्चालनमा आएको छ । 

कलकत्ता बन्दगाहबाट ४० फिट लम्बाई भएका ४० वटा कन्टेनर बोकेको मालबाहक रेल विराटनगर भन्सार यार्डका लागि प्रस्थान गरेका छन् । उक्त रेल सोमबार विहान विराटनगर आइपुग्ने जनाइएको छ ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सीमासम्म रेलमार्फत ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै यो सेवा सुरु भएको हो ।

कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा जारी गरेको७३÷२०२५ नम्बरको सूचना अनुसार कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गर्दै विराटनगर भन्सारको यार्डसम्म रेल कार्गो लैजान सकिने व्यवस्था गरेको थियो ।

भारत सरकारले भन्सारमार्फत इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम जडित नियमावली २०१९ संशोधन गरी सहज बनाएपछि पहिलो पटक कार्गो रेलले नेपाली उद्योगका लागि तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ लिएर भित्रिन लागेको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार कार्गो रेलमा स्वस्तिक आयलले तेस्रो मुलुकबाट आयात गरेको ४० कन्टेनर तोरी आउँदैछ । रेल शुक्रबार कलकत्ताबाट हिंडेको छ र सोमबार विराटनगर भन्सार यार्डमा आइपुगेपछि एक महत्वपूर्ण दिन र क्षणका रुपमा कार्गो रेलको स्वागत समेत गरिने छ । 

‘मलाई नेपालको भन्सार यार्डको ह्याण्डलिङ गर्ने ट्रान्स नेपालले फोन गरेर पर्सी (सोमबार) सम्म कार्गो रेल आइपुने जानकारी गराएको छ’ उनले भने, ‘यो नेपाली उद्योगी व्यवसायीका निकै महत्वपूर्ण दिन हुनेछ, विगतमा देखिएका कार्गो रेलसम्बन्धि अप्ठेरो र झन्झट पनि अन्त्य भएको छ ।’

उनले रेल भन्सार यार्डमा आउने भए पनि उद्योगी व्यवसायीहरूले ध्यानाकर्षण गराउँदै आएको ‘ह्याण्डलिङ चार्ज’ बारे भने अझैपनि स्पष्ट जानकारी आइनसकेको अध्यक्ष राठीले बताए । तर जे सुकै भएपनि यो क्षणलाई नेपाली उद्योगी व्यवसायी उत्साहित भएको बताए ।

कोलकाता र हल्दियाबाट वीरगञ्ज भन्सार यार्डमा मात्रै कार्गो रेल चल्दै आएको थियो । 

अब वीरगञ्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म कार्गो रेलले मालसामान ढुवानी गर्ने प्रक्रिया सुरु भएको हो । 

कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार उक्त व्यवस्थाको कार्यान्वयनस्वरूप साउन १ गते कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ गरिएको हो । 

कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर विराटनगरका लागि रेल कार्गो सेवा सुरु भएको जनाउ दिएका थिए । 

नेपाल आउन लागेका सवै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान भएका छन् ।

विराटनगरसम्म रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर ल्याउन सकिने जनाइएको छ ।

रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा बढी सुरक्षित, भरपर्दो, कम लागत र करिब २४ घण्टामै विराटनगरसम्म सामान पुग्ने भएकाले आयात व्यापार थप सहज हुने अपेक्षा गरिएको छ ।

यो सुविधाले नेपाली आयातकर्ताले बन्दरगाहमा तिर्नुपर्ने डेमरेज शुल्क, कन्टेनर डिटेन्सन शुल्क र सडक ढुवानीको अतिरिक्त लागत हट्ने छ । जसको परिणाम समग्र व्यापार पारवहन लागतमै कमी आई नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने विश्वास गरिएको छ ।

२०८० जेठ १८ मा भारतको बथनाहाबाट २ हजार ४०० टन औद्योगिक कच्चा पदार्थ बोकेको र्‍याक लिएर आएको पहिलो कार्गो रेल त्यसपछि दोस्रो पटक विराटनगर फर्किएको थिएन । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट बथनाहा–विराटनगर ८ किलोमिटरको कार्गो रेल चलेको जनाउ दिंदै ‘हरियो झण्डा’ हल्लाएका थिए । 

त्यसको लामो समयपछि नेपाल भारत पारवहन सन्धिको प्रोटोकल संशोधन भएको थियो । सोही संसोधनले विराटनगर भन्सार यार्डमा कार्गो रेल आउने नयाँ आशा पलाएको थियो ।

अब नेपालसँग रेलमार्फत् विराटनगर भन्सार यार्डमा सबै प्रकारका मालसामान आयात–निर्यात गर्न पाउने अधिकार छ । यो व्यवस्था कार्यान्वयनमा आएसँगै विराटनगर भन्सारबाट हुने गरेको पारवहनको लागत ठूलो मात्रामा घट्ने छ । ढुवानीको समय पनि घटेर भारतसँगको विद्यमान व्यापार पहुँच थप सहज हुने दाबी गरिएको छ ।

View : 65

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved