Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

धरान उपमहानगरपालिकाको गेटमा पुगे आन्दोलनरत १० दल, मेयर साम्पाङविरुद्ध नाराबाजी

उद्घोष सम्वाददाता
२४ साउन २०८१, बिहिवार

विराटनगर । खानेपानीको महसुलमा गरिएको चर्को बृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलहरूले धरान उपमहानगरपालिकाको गेटमा पुगेर मेयर हर्क साम्पाङ विरुद्ध नाराबाजी जारी राखेका छन् । 

उनीहरूले खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धि विरुद्धको आन्दोलन चर्काउँदै लगेका छन् । 

बिहीबार उपमहानगर कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनमा सहभागी भएका केही युवाहरूमाथि बल प्रयोग गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगबाट केही युवाहरू घाइते भएका छन् ।

मेयर हर्क साम्पाङ विरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् । उपमहानगरपालिकाको गेटबाट प्रदर्शनकारीहरू भित्र प्रवेश गर्न खोजेपछि प्रहरीसँग ठेलमठेल भएको थियो । 

आन्दोलनरत दलहरूले मनोमानी शुल्क बढाएको विरोधमा धरान खानेपानी बोर्डको कार्यालय र महसुल संकलनका लागि खोलिएका काउन्टरहरूमा लगाएको ताला उच्च अदालत विराटनगरको आदेशपछि खोल्न बाध्य भएका थिए । त्यसपछि उनीहरूले उपमहानगरपालिका घेराउको कार्यक्रम बनाएर आन्दोलन सुरु गरेका हुन् ।

दलहरूले तत्कालै महसुल वृद्धिको निर्णय खारेज गर्न माग गर्दै आएका छन् । आन्दोलनमा दलहरूलाई उपभोक्ताहरूले साथ दिएका छन् । 

धरान उपमहानगरको मातहतमा खानेपानी व्यवस्थापन बोर्ड रहेका कारण मेयर साम्पाङले महसुल वृद्धिको निर्णय गरेका थिए । उनले धरानमा खानेपानी आयोजनाको निर्माणमा एशियाली विकास बैंकको ऋणको साँवाब्याज तिर्न समस्या भएकोले महसुल बढाएको प्रष्टिकरण दिँदै आएका छन् ।

दलहरूले भने महसुलमा नौ हजार प्रतिशतसम्म वृद्धि भएको प्रमाणसहित आन्दोलनलाई चर्काउँदै लगेका छन् ।

View : 187

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved