विराटनगर : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ औषधिबिहीन बन्दै गएको छ । छ महिनादेखि बिरामीले निःशुल्क औषधि पाउन सकेका छैनन् ।
नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित कार्यालयले औषधि खरिद गर्ने गरेको भए पनि बिरामी निःशुल्क औषधि नपाएर खरिद गर्न बाध्य छन् । विराटनगरस्थित केन्द्रको वहिरङ कक्ष बाहिर निःशुल्क पाइने औषधिको लामो सूचि ठूला अक्षरमा राखिएको छ ।
जेष्ठ नागरिकका लागि अश्वगन्धा चूर्ण र आमलकी चूर्ण दिने भनिएको छ । तर, जेष्ठ नागरिक अस्पताल जाँदै फर्कने गरेका छन् ।
चिकित्सकले बिरामीलाई तिनै निःशुल्क पाइने मध्येबाट औषधि लेखिदिन्छन् । तर, औषधि भनें बजारबाट खरिद गर्नुपर्ने बाध्यता बिरामीलाई छ । केन्द्रमा सुत्केरीलाई दिइंने दुई प्रकारका धुलो औषधि बाहेक अन्य औषधि निःशुल्क पाइदैन । केन्द्रले निःशुल्क बितरण गर्ने औषधिकक्षको नजिकै सशुल्क औषधि कक्ष छ ।
निःशुल्क औषधि राखिने कक्षमा औषधि नभएकाले कर्मचारीले बिरामीको नाम लेखेर मात्रै राख्छन् । केन्द्रका प्रमुख डा केनिन राई सकिएको औषधि दशैं अघि नै माग गरिए पनि हालसम्म नआएको बताउँछन् । उनले खरिद प्रक्रियाका कारण समय लागेको बताउँदै औषधिका लागि ताकेता भनें भई रहेको जानकारी दिए ।
सो आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहत स्वास्थ्य निर्देशनालयबाट चलेको छ । जिल्लाले औषधि माग गर्ने तिनै निकाय हुन् । अस्पतालसहित रहेका केन्द्रहरु प्रदेशका १४ वटै जिल्लामा छन् । सबैभन्दा बढी सेवाग्राही मोरङमै भएको बताइन्छ । कोशी प्रदेशका संस्थापक स्वास्थ्यमन्त्री जयराम यादव निःशुल्कको बोर्ड राखेर बिरामीलाई झुक्याउन नहुने बताउँछन् ।
कोरोनाकालपछि आयुर्वेदलाई बढी मानिसले मन पराएको बताउँदै उनले प्रदेशको आपूर्ति केन्द्रमार्फत खरिद गर्न नसके जिल्लाबाटै खरिद हुनु पर्ने बताए । पूर्व मन्त्री यादवले आफ्नो कार्यकालमा निःशुल्क औषधि जे जसरी भए पनि आपूर्ति गरेको जानकारी दिए ।
निःशुल्क स्वास्थ्य र शिक्षा दिने भनिए तापनि नेपालमा सबैभन्दा महंगो शिक्षा र स्वास्थ्य नै भएको उनको भनाइ छ ।
View : 203
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved