Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

२६ कार्तिक २०८२, बुधवार

विराटनगर। सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य लाई नियुक्त गरेको छ। सोमबार (कार्तिक २४ गते) बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आचार्यलाई आगामी माघ १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो।


सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालद्वारा बुधबार जारि विज्ञप्ति अनुसार स्थायी ठेगाना ललितपुरमा रहेका आचार्य एसएलसीमा बोर्ड तेस्रो भएर उत्तीर्ण भएका व्यक्ति हुन् । बैंक स्थापना भएको २०६० सालदेखि नै सानिमा बैंकमा कार्यरत रही बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव सङ्गालेका आचार्य हालसम्म बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारीमा  थिए ।

यसअघि पनि उनले बैंकको दशवटा विभागमा विभागीय प्रमुखको रूपमा नेतृत्व गरिसकेका छन् । आचार्यलाई कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विशेष विज्ञता हासिल भएको मानिन्छ। साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलको सञ्चालक समितिमा अध्यक्ष का रूपमा कार्यरत छन्।

शैक्षिक योग्यताका हिसाबले आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेटविश्वविद्यालयबाट स्नातकोत्तर र नेपाल इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग (निट), झापाबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। उनले राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाईस्कुलबाट बोर्ड तेस्रो श्रेणी समेत हासिल गरेका थिए । बैंकिङबाहेक उहाँको उत्पादन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले आचार्यको कार्यकालमा सानिमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुने विश्वास व्यक्त गरेको छ। 

सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब तथा सुविधा निश्चित नभई बैंकको मुनाफा, कार्यसम्पादन र समयअनुसार फरक(फरक हुने गर्दछ।

बैंकका वार्षिक प्रतिवेदनहरूमा सार्वजनिक भएका पछिल्ला विवरणहरूलाई आधार मान्दा वार्षिक  करीब रु १ करोड १९ लाख देखि रु १ करोड ८४ लाखसम्म हुन्छ ।  सो बैंकको २०७८/ ७९ वा पछिल्लो उपलब्ध विवरण अनुसार यो विवरण हो । 


यो रकम हरेक वर्ष बैंकको मुनाफा र नियामक निकाय (नेपाल राष्ट्र बैंक)  को नियमनअनुसार परिवर्तन भइरहन्छ।


सीईओको कुल वार्षिक सुविधामा निश्चित मासिक तलब मात्र नभई   दैनिक तथा अन्य भत्ताहरू, कार्यसम्पादनमा आधारित बोनस ,  सञ्चयकोष ,  औषधि उपचार खर्च र अन्य सुविधा पर्दछन् । बैंकबाट प्राप्त कुल  रकमबाट सीईओले राज्यलाई करिब ३६ देखि ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने हुन्छ।

नेपालमा वाणिज्य बैंकका सीईओहरूको तलब बैंकको आकार र वित्तीय अवस्थाको आधारमा निकै आकर्षक  (वार्षिक ५० लाखदेखि ३ करोडभन्दा माथिसम्म) हुने गर्दछ। नेपालमा सबैभन्दा बढी नबिल बै‌कका सीईओले तलव तथा सुविधा लिने गरेका छन् । नबिल बैंकले आर्थिक वर्ष २०८०–८१ मा सीईओको  तलब तथा सुविधा वापत मासिक १९ लाख ६७ हजार एक सय ४९ रुपैयाँ भुक्तान गरेको थियो  ।  

नबिल बैंकले सो आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड ३६ लाख ५ हजार ७८३ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको सो बैंकको  प्रतिवेदनमा उल्लेख छ । तलब र सुविधामा आकर्षक मानिदै आएको नबिल बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा  गत जेठदेखि सीए मनोजकुमार ज्ञवाली छन् । 

View : 207

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved