Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

वार्ता

मोरङ–४ नमुना क्षेत्र बन्छ : गुरुराज घिमिरे

उद्‌घोष संवाददाता
१८ फागुन २०८२, सोमवार

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे लामो समयदेखि विद्यार्थी राजनीति र लोकतान्त्रिक आन्दोलनमा सक्रिय युवा नेता हुन् । 

वि.सं. २०४३ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका घिमिरे २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका युवा नेता हुन् । उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव हुँदै २०५१ सालमा सभापतिसमेत बने । नवौं महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली कांग्रेसको राजनीतिमा उदाएका घिमिरे अहिले चुनावी अभियानमा छन् । यसै क्रममा घिमिरेसँग उद्घोष दैनिकले उनका चुनावी एजेन्डा, विकासका प्रतिबद्धता र अन्तिम तयारीबारे गरिएको कुराकानी :

तपाईले आफ्नो उम्मेदवारीलाई किन विशेष मान्नुभएको छ ? मतदाताले तपाईलाई किन रोज्ने ?

– २००७ सालदेखि २०७२ सालसम्मका सबै राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ । अहिले लोकतन्त्रलाई संस्थागत गर्दै विकास र सुशासनको चरणमा प्रवेश गर्नुपर्ने बेला आएको छ । 
म मोरङ क्षेत्र नम्बर ४ का जनताको दीर्घकालीन आवश्यकता पहिचान गरेर स्पष्ट कार्ययोजना सहित मैदानमा उत्रिएको जिम्मेवार उम्मेदवार रहेको छु । भ्रष्टाचार, बेथिति र बेरोजगारी अन्त्य गर्दै समृद्ध क्षेत्र निर्माण गर्नु नै मेरो मुख्य लक्ष्य हो ।

तपाईले यस क्षेत्रको खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राख्नुभएको छ, यो प्राथमिकता किन महत्वपूर्ण छ ?

– विराटनगर–१९ बैजनाथपुरमा रहेको खेलमैदानलाई गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रूपमा विकास गर्ने योजना रहेको छ । यसले खेल पर्यटन, रोजगारी र युवाहरूको क्षमता विकासमा टेवा पुर्‍याउँछ । 
खेल क्षेत्रलाई व्यवस्थित बनाउनु भनेको अनुशासन र अवसर सिर्जना गर्नु हो । यस कारण यो क्षेत्रलाई खेलकुद क्षेत्रको हब बनाएर युवाहरूलाई अवसरको सिर्जना गर्नु मेरो जिम्मेवारी रहेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा तपाईंका मुख्य योजना के–के हुन् ?

– यस क्षेत्रमा सामुदायिक तथा आवासीय विद्यालयहरूमा अंग्रेजी माध्यमको पठनपाठन विस्तार गर्नुपर्ने आवश्यकता छ । न्यून आर्थिकस्तर भएका किसानको बसोबास रहेको र निजी शिक्षामा पहुँच नपुग्ने भएकोले शिक्षा क्षेत्रको विकास गर्नु आवश्यक छ । बेलबारी–१ हरियालीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी विशेषज्ञ डाक्टरको व्यवस्था गर्नुपर्ने जिम्मेवारी पनि छ । विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छु । प्राविधिक र आधुनिक शिक्षामा पहुँच विस्तार गर्न मैले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छु ।

कृषक र ग्रामीण भेगका नागरिकका लागि तपाईंको विशेष योजना के छ ?

– सुनसरी–मोरङ सिंचाइ योजनाअन्तर्गत मुख्य तथा शाखा नहर स्तरोन्नति गरिनेछ । साना सिंचाइ आयोजना, तटबन्ध, पक्की पुल र कल्भर्ट निर्माण गरी जनतालाई विकासको अवसरमा पहुँच बृद्धि गर्ने लक्ष्य राखेको छु । त्यस्तै, मल, बीउ तथा आधुनिक प्रविधिको सहज उपलब्धता सुनिश्चित गर्न गरिनेछ । कृषि उत्पादन संरक्षणका लागि शीतभण्डार र बजारीकरण केन्द्र स्थापना गरिनेछ ।

युवाहरूका लागि रोजगारीको अवसर कसरी सिर्जना गर्नुहुन्छ ?

– युवा उद्यमीलाई बिना धितो ऋणको पहल गरिनेछ । स्वरोजगारमूलक तालिम र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना बनाएको छु । क्षेत्र नम्बर ४ मा खेलकुद, पर्यटन, साना तथा घरेलु उद्योग, कृषि प्रशोधन उद्योगमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने काममा मैले प्रतिवद्धता जनाइसकेको छु । त्यस्तै, सिटी रिक्सा चालकहरूलाई संगठित गरी सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराउने र त्यसबाट प्रत्यक्ष रूपमा युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछु । 

शहरी व्यवस्थापन र डुबान समस्याबारे तपाईको धारणा के छ ?

– विराटनगर महानगरपालिका र आसपास क्षेत्रमा देखिने डुबान समस्या समाधानका लागि दीर्घकालीन गुरुयोजना ल्याइनेछ । रिङरोड विस्तारका क्रममा देखिएका समस्या समाधान गर्न समन्वय गरिनेछ । व्यवस्थित शहरीकरणका लागि स्थानीय तहसँग सहकार्य गरिने छ ।

सामाजिक न्याय र समावेशीताका विषयमा तपाईका योजना के हुन् ?

– दलित, पिछडावर्ग तथा महिला समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । भूमिहीन सुकुम्बासीलाई व्यवस्थित बसोबासको पहल हुनेछ । अन्तिम संस्कार स्थलहरूको स्तरोन्नति गरिनेछ । विभिन्न धर्म–संस्कृतिका गुरुकुल, मदरसा, गुम्बा, चर्च लगायत संरचनाको आवश्यकता अनुसार विकास गरिनेछ ।

तपाई चुनावको अन्तिम तयारी कसरी गरिरहनुभएको छ ?

– म घरदैलो अभियान, टोलसभा र युवा भेला मार्फत प्रत्यक्ष मतदातासँग संवाद गरिसकेको छु । पार्टी कार्यकर्तादेखि मतदाता र शुभेच्छुकहरूको राम्रो सहयोग पाइरहेको छु । 
विगतका प्रतिबद्धताको समीक्षा र आगामी योजनाको स्पष्ट खाका लिएर जनतामाझ गएका कारण अब मतदाताको सुझावलाई समेट्दै चुनावी अभियानलाई सकारात्मक र मुद्दाकेन्द्रित बनाउने छु । 

अन्त्यमा, मतदातालाई तपाईंको सन्देश के छ ?

– लोकतन्त्रको सुदृढीकरण र समृद्धिको यात्रामा मोरङ क्षेत्र नं. ४ लाई नमुना क्षेत्र बनाउने मेरो प्रतिबद्धता छ । तपाईंहरूको विश्वास र मतले विकासको यो अभियानलाई सफल बनाउनेछ । 
परिवर्तन नारामा होइन, योजनाबद्ध कामबाट सम्भव हुन्छ । त्यसका लागि नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गर्दछु ।

View : 113

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved