ओखलढुंगामा तीजनाको हत्याका दुई घटना
विराटनगर । नेपाल प्रहरीले तीनजनाको ज्यान जाने गरी ओखलढुंगामा चार महिनाअघि भएका दुईवटा श्रृंखलावद्ध हत्याको गुत्थी पत्ता लगाउँदै संलग्न चारजनालाई पक्राउ गर्न सफल भएको छ ।
लागुऔषध र मादक पदार्थ सेवनका लागि खर्च निकाल्न ओखलढुंगामा उक्त समुहले चोरी डाका गर्ने र मानिसको समेत वीभत्स हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
सिद्धिचरण नगरपालिका–४ चार्खुमा २०८२ असोज २६ गते राति १२ बजेको समयमा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को हत्या भएको थियो ।
उनको घरभित्रै धारिलो हतियार प्रहारबाट हत्या गरी घरमा रहेका सुनचाँदीका गरगहना र नगद समेत लुटपाट भएको घटनाका संलग्न ती व्यक्तिहरू नै ओखलढुंगाको अर्को हत्या घटनामा पनि संलग्न रहेको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो ।
हत्या र लुटपाटसम्बन्धी कसुरका दुवै घटनामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नं.–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नं.–८ का दोर्जे भनिने अशोक भुजेल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
उनले रत्नकुमारीकै हत्या र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूले पाँच दिनअघि ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित शोभितमान किराना पसल सञ्चालन गर्ने गर्दै आएका एक दम्पत्तीको हत्या गरी लुटपाट गरेको बताए ।
‘पाँच दिनअघि भदौरेका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरमाथि कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या भएको घटना थियो, अभियुक्तहरूले नै मगरको घरबाट सुनचाँदी, नगद तथा मोबाइलसमेत लुटपाट गरेको खुलेको छ’ प्रनाउ केसीले भने, ‘घटनामा संलग्न अभियुक्तहरूलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त अनुसन्धान टोलीले लामो अनुसन्धानका क्रममा पक्राउ गर्न सफल भएको हो ।’
उनीहरूको साथबाट हत्या तथा लुटपाटका लागि प्रयोग गरिएका चच्कु, बञ्चरो, खुकुरी, कोदालोसहित दुई नाल भरुवा बन्दुक र ७.६५ एमएमका गोलीका खोका, लुटिएका चारथान मोबाइल, गरगहना र नगद समेत बरामद गरेको जनाइएको छ ।
हत्यामा संलग्न व्यक्तिहरूले शोभितमान किराना पसलका सञ्चालक दम्पतीको पुस १४ गते राखी करीव ११ बजेको समयमा कोदालो र अन्य धारिलो हतियारले कन्चटमा प्रहार गरी वीभत्स हत्या गरेका थिए ।
उनीहरूको हत्यापछि गोठमा लगेर स्याउलाले छोपेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । साथै पसलबाट करिव एक लाख रुपैयाँ नगद, सुन ६ तोला लुटपाट गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रनाउ केसीले यो समुहले सोलुखुम्बुमा अर्को घटनाको योजना बनाएको बताए । प्रहरीसँगको बयानका क्रममा उनीहरूले अर्को घटनाको योजना बनाएको स्वीकार गरेका छन् ।
‘गाँजा र रक्सी सेवन गर्ने यिनीहरूले एकान्तमा बस्ने बेसहारा मानिसलाई लुट्ने गरेको पाइएको छ’ केसीले भने, ‘लुटपाटपछि पहिचान नखुलोस् भनेर हत्या गरेको पाइयो ।’
उनीहरूले पहिलो हत्या र लुटपाटको घटनामा जनही ५–५ हजार र दोस्रो घटनामा १०–१० हजार रुपैयाँ भाग लगाएर बाँडेको खुलेको छ ।
एकल महिला कटुवाल कान नसुन्ने र परिवारमा कोही पनि नभएकाले उनले लगाएको गहना लुट्न हत्या गरेको प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले संलग्न व्यक्तिहरूले सिरियल किलरको रुपमा घटनामा जोडिएको बताए ।
मुख्यगरी डाका गर्ने उद्देश्यले उनीहरूले व्यक्ति पहिचान गर्ने गरेको उनले बताए । अनुसन्धानका लागि कुकुर समेत परिचालन गरिएको जानकारी दिए ।
‘घटना सिरिजमा देखिएको थियो’ उनले भने, ‘अझै पनि केही कोही जोडिन पनि सक्छन्, थप अनुसन्धान जारी नै छ ।’
प्रहरीका अनुसार चारजनाको समुहले एकान्त स्थान र आर्थिक अवस्था राम्रो भएका एकल महिला वा वृद्ध असहाय व्यक्ति पहिचान गर्ने र लुटपाटको योजना बनाउने गरेको अनुसन्धानका खुलेको छ ।
घटनाअघि उनीहरू घर भएको स्थानमा रेकी गर्ने गरेको र हत्यापछि शवलाई समेत मिलाएर राख्ने र छोपिदिने गरेको पाइएको जनाइएको छ ।
प्रहरीले पक्राउ परेका चारैजनामाथि कर्तव्य ज्यान, डाका तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
हत्यामा संलग्न पक्राउ परेपछि ओखलढुंगाबासीले केही सुरक्षित भएको महसुस गरेको प्रहरी बताउँछ ।
श्रीमतीको हत्या
यसैबीच, उदयपुरको बेलका नगरपालिका–३ किरात चोकका ३० वर्षीय खगेन्द्र राईले आफ्नै श्रीमती २७ वर्षकी भावना भन्ने गंगा राईको हत्या गरेका छन् ।
उनीहरूबीच भएको झगडाका कारण खगेन्द्रले आइतबार बिहान श्रीमती गंगामाथि छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार बिहानै मृत्यु भएको जनाइएको छ ।
श्रीमतीको हत्यापछि आफैलाई छुरा प्रहार गरी आत्महत्या प्रयास गरेका खगेन्द्रलाई स्थानीयले उद्धार गरेका थिए । उनको उपचार भइरहेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 192
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved