Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आज फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक विदा

फाल्गुनन्दको मार्गदर्शन पालना गरे सामाजिक र साँस्कृतिक सद्भाव कायम गर्न सकिन्छ : मुख्यमन्त्री

उद्घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्न सकिने बताएका छन् ।

आइतबार किराँत धर्मका महागुरु फाल्गुनन्दको १४० औं जन्मजयन्तीका अवसरमा शुभकामना दिंदै मुख्यमन्त्री कार्कीले अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान समाज सुधारक महागुरु फाल्गुनन्दले देखाएको सत्मार्गको पालनमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले भने– ‘जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपी, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिरहने प्रेम र अहिंसाका प्रतिक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ ।’

मुख्यमन्त्री कार्कीले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाई अगाडि बढाउन सकिनेमा जोड दिए । उनले महागुरु फागुनन्दको योगदानको चर्चा गरे ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको विक्रम सम्वत् १९४२ सालमा कोशी प्रदेशको इलाममा जन्म भएको थियो । फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो ।

यसैबीच, फाल्गुनन्द जयन्तीको अवसरमा आइतबार कोशी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । फाल्गुनन्द जयन्तीकै अवसरमा इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा भव्य कार्यक्रम गरिंदैछ ।

त्यहाँ निर्मित महागुरु फाल्गुनन्दको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

View : 57

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved