Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

टेलिकमको पाइपबाट पानी बगेपछि...

उद्घोष सम्वाददाता
२० कार्तिक २०८१, मङ्गलवार

चितवन, २० कात्तिक । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् ।

दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ्याएको पाइपबाट पानी निस्किएको बताए ।

सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उनले बताए ।

उनले भने, “वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुनसक्छ ।

नत्र तार हाल्न विछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला ।”

टेलिकमको पाइपमा कहाँबाट पानी छि-यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनले जानकारी दिए ।

खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उनले बताए ।

नारायणगढदेखि गोन्द्राङसम्म छ लेनको सडक विस्तार भइरहेको छ ।

सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ ।

कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए ।

उनले भने - “कहाँबाट पानी छि-यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।”

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ ।

महानगर प्रमुख रेनु दाहालले भने “हामीले दसैँ अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँ, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।” रासस

View : 59

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved