Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लैंगिक हिंसा प्रभावितका लागि आर्थिक सशक्तिकरण कार्यक्रम

उद्‌घोष संवाददाता
२८ असोज २०८२, मङ्गलवार

विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तिकरण परियोजना लागू  हुने भएको छ । 

महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो । त्यसका लागि महानगर सहितका सरोकारवालासँग बैठक बसेर तयारी अगाडि बढाइएको छ । 

लैंगिक हिंसा प्रभावितलाई आयआर्जन, रोजगारीमा पहुँच, आत्मसम्मानमा वृद्धि गरी हिंसाको चक्रबाट बाहिर निकाली सम्मानजनक जीवन जिउन सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको छ । 

जसले उनीहरूको निर्णय क्षमतामा वृद्धि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच भई पुनः हिंसाको जोखिम न्यूनीकरण हुने यूएनएफपीएका प्रतिनिधि सरोज भुषालले बताए । 

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले परियोजनाको लक्ष्य अत्यन्तै राम्रो रहेको बताए । 

लैंगिक हिंसा प्रभावितका लागि परियोजनाले अघि सारेको योजना निकै पवित्र रहेको उनको भनाइ थियो ।

महानगरको कानुन शाखाकी प्रमुख शारदा थपलियाले महानगरको न्यायिक समितिसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरिन् । 

न्यायिक समितिमा पनि लैंगिक हिंसा पीडितहरू पनि आउने गरेको थपलियाले सुनाइन् । गैसस मोरङकी अध्यक्ष विष्णु शर्माले परियोजनाको लक्ष्य निकै राम्रो रहेको बताइन् ।

महिला–पुरुष दुवै लैंगिक हिंसाबाट पीडित हुन सक्ने बताउँदै अध्यक्ष शर्माले वास्तविक पीडितले परियोजनाबाट लाभ पाउनुपर्नेमा जोड दिइन् ।

नर्वेली दूतावासको आर्थिक सहयोग रहेको परियोजना कोशी प्रदेशको विराटनगर महानगरपालिकासहित उदयपुरको त्रियुगा र कटारी नगरपालिकामा सञ्चालनमा आउन लागेको हो ।

आगामी ७ महिनाका लागि तीन पालिकाका लागि ‘पाइलट फेज’का रुपमा परियोजना सञ्चालन हुनेछ ।

View : 295

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved