विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले जनसरोकारका विषयहरूमा खबरदारी गर्ने भएको छ । समाजवादीले विज्ञप्ति नै निकालेर खबरदारीको घोषणा गरेको हो ।
स्थानीयस्तरबाटै जनताका समस्या समाधानका लागि स्थानीय तहहरूमा पुगेर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको जनाइएको छ ।
चैत्र ११ गतेदेखि मोरङका १७ वटै पालिकामा स्थानीय मुद्दाहरूलाई माग बनाएर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको एकीकृत समाजवादी मोरङका अध्यक्ष चन्द्रवीर राईले बताए । सबै पालिकामा दिउँसो १ बजे आ–आफ्नो ठाउँका ज्वलन्त मुद्दालाई मागका रुपमा सूत्रबद्ध गरेर बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘हामीले उठाएका मागहरूलाई स्थानीय तहका प्रमुख उपप्रमुखलाई बुझाउँछौ’ अध्यक्ष राईले भने ‘त्यसपछि ती मागहरू सार्वजनिक गर्छौँ र समस्या समाधानका लागि दबाबमूलक कार्यक्रम गर्छौँ ।’ उनले जनसेवाका अन्य विषयमा समेत निरन्तर खबरदारी गर्ने बताए ।
यस्तै नेकपा एसले मोरङमा दुई महिने जनसंगठन अभियान पनि तिव्रताका साथ चलाइरहेको जनाएको छ । माघ २५ देखि चैत्र २५ सम्म देशभरी अभियान सञ्चालन गरेको एसले जनाएको हो । उक्त अभियानको प्रमुख अभियन्तामा पोलिटब्युरो सदस्य तथा प्रदेश कमिटीका सचिव महेश रेग्मी खटिएका हुन् । चैत्रभित्र सबै कमिटीहरूलाई सुदृढ र व्यवस्थित गर्ने रेग्मीले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङ पनि महाधिवेशनको तयारीमा जुटेको छ । २०८१ जेठ ३ देखि ७ सम्म काठमाडौंमा महाधिवेशन गर्ने जनाइएको छ ।
View : 158
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved