विराटनगर । मोरङको धनपालथान गाउँपालिका सोराभागस्थित प्रस्तावित गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा फेला परेको शव २४ घण्टामा ढोका खोलेर निकालिएको छ ।
शव निकाल्ने क्रममा बस्यालले लेखेको पत्र प्रहरीले फेला परेको छ ।
पत्रमा सशस्त्र प्रहरी महानिरीक्षकदेखि संगठन र सँगै प्रशिक्षण लिएका साथीहरूसँग माफी माग्दै आफूले संगठनमा रहेर खास काम गर्न नसकेको लेखेको बताइएको छ ।
प्रहरीले भने हत्या वा आत्महत्या दुबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ ।
सशस्त्र प्रहरी सेवा प्रवेश गरेको ठिक १८ वर्ष पूरा भएको दिन उनले आत्महत्या गरेको बताइएको छ ।
२०६२ फागुन २१ गते उनी सशस्त्र प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका थिए । उनीसँगै सेवा प्रवेश गरेका अन्य अधिकृतहरूले वार्षिक उत्सव मनाउने तयारी गरिरहेका बेला यो घटना बाहिर आएको हो ।
‘जागिर खाएको खुसीको दिन भएकाले बेलुका रमाइलो गर्ने कार्यक्रम थियो, यस्तो दुखद खबर आयो, यस वर्ष रमाइलो गरिएन’ बस्यालका साथी एक जना नायव उपरीक्षकले भने ।
पाल्पाको तानसेन घर भएका उनी पाँच महिनाअघि प्रस्तावित गुल्ममा खटिएका थिए ।
सोमबार दिउँसो यसअघि बोर्डर आउटपोष्ट रहेको सो कार्यालयलाई सशस्त्रले गुल्ममा विकसित गर्ने उद्देश्यले बस्याललाई त्यहाँ प्रमुख बनाएर खटाएको थियो ।
मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार गुल्मको भान्साघर सँगै रहेको स्टोरको पंखामा डोरीको पासोमा झुण्डिएको अवस्थामा बस्यालको शव फेला परेको थियो ।
बस्यालका परिवारका सदस्य पाल्पाबाट आएपछि मात्रै शव निकाल्नुपर्ने भएकाले २४ घण्टापछि मात्रै शव पोष्टमार्टमका लागि पठाइएको दाहालले बताए ।
सशस्त्र प्रहरीका एक जना उपरीक्षकका अनुसार, बस्यालले आत्महत्या गर्नुअघि लेखेको पत्रमा आफ्नो शव हजुरआमा भएको ठाउँ पाल्पामा लैजानू भनेका छन् ।
श्रीमती र छोरालाई अमेरिका पठाई दिनू भनेका छन् । बस्यालका दिदी अमेरिकामा बस्दै आएकी छन् ।
परिवारमा रोजगारीको अवसर दिलाई दिन पनि उनले पत्र मार्फत आग्रह गरेको बताइएको छ ।
View : 465
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved