Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी प्रदेशमा माओवादीका लागि दोहोरियो नियति

पहिले काँध फेरीफेरी, अब कहिले होला घरफिर्ती

उसै पनि नेकपा माओवादीप्रति अनुदार मुख्यमन्त्री कार्की कतिखेर माओवादी मन्त्रीले राजीनामा देलान् भन्ने पर्खाइमा छन् ।
उद्घोष सम्वाददाता
२५ असार २०८१, मङ्गलवार

प्रचण्डले गत फागुन २१ गते काँध फेरेको झण्डै १ महिनापछि तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउँदै माओवादी मन्त्रीहरू ।

विराटनगर । केही महिनाअघि केन्द्रमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले काँध फेर्दा कोशी प्रदेशमा नैतिक संकटमा परेको नेकपा माओवादी केन्द्र फेरि अहिले उही नियतिको शिकार बनेको छ । 

कोशी प्रदेशमा नेकपा एमालेलाई समर्थन गरेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारमा सहभागी भएको नेकपा माओवादी केन्द्र सरकारबाट केही दिनमै बाहिरिनुपर्ने निश्चितप्रायः छ । स्वयं मुख्यमन्त्री कार्कीले पनि अब आफ्नो नेतृत्वको सरकारबाट माओवादी बाहिरिने र नेपाली कांग्रेसको इन्ट्री हुने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । 

उसै पनि नेकपा माओवादीप्रति अनुदार मुख्यमन्त्री कार्की कतिखेर माओवादी मन्त्रीले राजीनामा देलान् भन्ने पर्खाइमा छन् । मुख्यमन्त्री कार्की केही दिनका पाहुनालाई तुरुन्तै छाडेर जाऊ भन्ने पक्षमा नभए पनि जतिसक्दो माओवादी मन्त्रीलाई बिदा दिएर कांग्रेसका मन्त्री बनाउन आतुर भएको बुझिएको छ । यद्यपि असार २८ गतेपछिमात्र राजनीतिले एउटा कोर्ष लिने भन्दै कार्कीले त्यतिञ्जेलसम्म चुपचाप रहने सार्वजनिक रुपमा बताएका छन् । 

यता नेकपा माओवादी केन्द्र पनि असार २८ गतेसम्म जो जहाँ छ त्यहीँ रहने, छाड्न बाहिरिन हतार नगर्ने पक्षमा देखिएको छ । ‘हेरौं न असार २८ सम्म, किन हतार गर्ने’ कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाई भन्छन्, ‘राजनीतिको कोर्ष कसरी अघि बढ्छ, त्यहीअनुरुप निर्णय हुन्छ ।’ केन्द्रमा बदलिएको समीकरणको असर प्रदेशमा पर्नु स्वभाविक भएको उल्लेख गर्दै चापागाई दुई दिन अघि वा पछि सरकार छाड्नु वा नछाड्नुमा कुनै तात्विक असर नपर्ने बताउँछन् । 

नेकपा माओवादी केन्द्रलाई कोशी प्रदेशमा दोस्रो पटक सरकारबाट अमिलो मन गरेर बाहिरिनुपर्ने स्थिति आइपरेको हो । गत फागुन २१ गते केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँध फेर्दा कोशी प्रदेशमा नेकपा माओवादी केदार कार्की नेतृत्वको सरकारमा थियो । गत वर्षको असोज २७ गते नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्कीको सरकारमा एमाले बाहिरिएपछि माओवादी सरकारमा गएको थियो ।

कार्कीको नेतृत्वको सरकारमा कात्तिक १७ गते इन्ट्री गरेको नेकपा माओवादी केन्द्रमा प्रचण्डले काँध फेर्दा चैत २६ गते सो पार्टीका मन्त्रीहरूले राजीनामा दिएका थिए । तत्कालीन केदार कार्की नेतृत्वको सरकारका माओवादी मन्त्रीहरू गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगरले राजीनामा बुझाएका थिए । राजीनामा बुझाउने तीनै जना अहिले पनि हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारमा मन्त्री छन् ।

त्यसबेला प्रचण्डले काँध फेरेको झण्डै एक महिनाभन्दा बढी कोशी प्रदेशमा सरकारको आनन्द माओवादी केन्द्रका मन्त्रीहरूले लिएका थिए । काँध फेरीफेरी सरकारमा सामेल भइरहेको माओवादी यस पटक भने निकै अप्ठ्यारो परिस्थितिमा छ । यस पटक भने अरुले काँध फेर्दा केन्द्रमा प्रचण्डको जुइना खुस्किएको छ भने त्यसको प्रभाव मुलुकका सात वटै प्रदेशमा देखिएको छ । आफ्नो नेतृत्वको सरकार नभएको केही प्रदेशहरूमा एमालेका मन्त्रीहरूले राजीनामा दिई सकेका छन् ।

उनीहरूले केन्द्रकै समीकरणअनुसार प्रदेशमा सरकार बनाउने तयारी थालेका छन् । तर माओवादी केन्द्रका कुनै पनि मन्त्रीहरूले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनीहरू जति दिन हुन्छ सरकारमा बसिरहने पक्षमा रहेको बुझिएको छ । उनीहरूमा प्रचण्डले असार २८ मा कुनै जादु गर्छन् कि भन्ने झिनो आश पनि रहेको बताइन्छ ।

View : 137

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved