विराटनगर । मिर्चैया–कटारी–घुर्मी सडक योजना अन्तरगत निर्माणाधिन अवस्थाको पक्की पुल बुधबार रातीको वर्षापछिको बाढीले भत्काएको छ । उदयपुरको कटारी नगरपालिका–२ स्थित सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बिच भाग भाँचिएर क्षति पुगेको जनाइएको छ ।
बुधबार राती परेको बेमौसमी वर्षा पछिको बाढीले अमाह खोलामा लगाइएको उक्त पुलमा क्षति पुगेको हो ।
बेमौसमी पानी परेको र त्यसैको बाढीका कारण पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पुगेको मिर्चैया–कटारी–घुर्मी योजना प्रमुख पशुपति ज्ञवालीले बताए ।
प्रिस्थेस प्रविधिको उक्त पुलले लोड लिनका लागि ढलान भएको २८ दिनपछि केबल हाल्नुपर्ने थियो । योजना प्रमुख ज्ञवालीका अनुसार उक्त पुल ढलान भएको २० दिन मात्रै भएको थियो ।
‘ढलानको २० दिन भएको थियो, २८ दिन पुगेपछि केबल राखेर तानेपछि मात्रै पुलले लोड बहन गर्थ्यो’ ज्ञवालीले भने, ‘यस्तो मौसममा पानी आउँछ भन्ने कसैलाई अनुमान भएन, अचानकको बर्षाले ह्यूमपाईपबाट बग्ने भन्दा ठुला बाढी आएर पुलमा क्षति भयो ।’
सूर्य कन्सट्रक्सन धरानले निर्माणको ठेक्का पाएको पुल तयार नहुँदै बाढीले क्षति गरेपछि यस स्थानीयले चिन्ता व्यक्त गरेका छन् । बल्लबल्ल बन्न लागेको पुल नसोचेको बाढीले भाँचिएपछि यस क्षेत्रका बासिन्दालाई समेत ठुलो नोक्सानी भएको स्थानीय संजीव कार्कीले बताए ।
तत्काललाई पुल भत्किए पनि इन्स्योरेन्सले उक्त क्षतिको ‘कभर’ गर्ने जनाइएको छ । तर त्यसका लागि ठेकेदार कम्पनिलाई पुन: अर्को पुल बनाउन भने समय लाग्ने छ ।
सडक विभागले ७२ किलोमिटर लामो मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति तथा विस्तारका लागि ईआईए स्वीकृत गरेर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । त्यसका लागि करिब ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको जनाइएको छ ।
यो सडक खण्डभित्र ४ वटा लामो पुल र ७ वटा सानो पुल निर्माण हुने जनाइएको छ । त्यस्तै २ सय ८९ वटा पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने उल्लेख गरेर सडक विभागले ईआईए स्वीकृत गरेको छ ।
View : 496
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved