एनपीएल क्रिकेट :
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार प्रतियोगिताभरीकै दुई उत्कृष्ट टोली श्रेष्ठताको लडाइमा उत्रँदैछन् ।
सुदूरपूर्वको कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टोली विराटनगर किंग्स र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोयल्सबीचको क्वालिफायर–१ को खेलले फाइनल पुग्ने एउटा टोलीको टुंगो लगाउनेछ ।
त्यसैले नेपालका क्रिकेटप्रेमीको नजर मंगलबार अपरान्ह त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानतिर सोझिएको हुनेछ ।
पहिलोपटक प्लेअफ पुगेर क्वालिफायर–१ खेल्न लागेको विराटनगरको टोलीमा विराटनगरसहित सिंगो कोशी प्रदेशका क्रिकेट समर्थकको विशेष रुचि र चासो रहनेछ । त्यसो त सुदूरपश्चिमको टोलीतिर पनि उसका समर्थकहरुको आशापूर्ण नजर उही मात्रामा रहेको हुनेछ ।
एनपीएल अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल एनपीएलको बहुप्रतीक्षित खेलको रूपमा रहेको छ । किनभने अंक तालिकाका शीर्ष दुई टोलीबीचको भिडन्त उनीहरुबीचको श्रेष्ठताको लडाइँ पनि बन्ने पक्का छ ।
दुवै टोलीले लिगको अन्तिम खेलमा एक अर्काविरूद्ध खेलेका थिए । लिगको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमविरूद्ध १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गरेर सन्सनी मच्चाएको थियो ।
खेलमा दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसले विराटनगरका लागि १९ बलमै अर्धशतक पूरा गरेका थिए । सो खेलमा सुदूरपश्चिमका क्रिस लिनसहित स्कट कुगेइलिनले खेलेका थिएनन् ।
मंगलबारको खेलमा पराजित हुने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा मौका पाउनेछ ।
बुधबार काठमाडौं र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको विजेता पनि शनिबार हुने फाइनलमा पुग्नेछ ।
नेपालका स्टार खेलाडी सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स फाइनल पुग्न मैदानमा ओर्लंदा डु प्लेसी, मार्टिन गप्टिल, मर्चेन्ट डि ल्यांगे, साम हेजलेटसहितका स्टार विदेशी खेलाडीहरुको बलियो साथमा हुनेछ ।
त्यसो त १५ विकेट लिएर सबैभन्दा शीर्ष स्थानमा रहेका बलर कप्तान लामिछाने नै छन् । लोकेश बम, बसिर अमहद लगायतका नेपाली खेलाडीहरुको प्रदर्शन पनि विराटनगरका लागि सहयोगी सावित हुनसक्छ ।
नेपालकै स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमसँग जश ब्राउन र क्रिस लिन जस्ता स्टार अष्टे«लियन ब्याटर मंगलबार हुने छैनन् । घाइते भएका लिनले एनपिएलका बाँकी दुवै खेल गुमाउने भएका छन् ।
क्रिस लिनको अनुपस्थिति सुदूरपश्चिमका लागि टाउको दुखाइ बन्नेछ । अर्का ओपनिङ ब्याटर जश ब्राउनले पनि सुदूरपश्चिमका लागि बाँकी खेल गुमाउने भएका छन् । ब्राउन बिग ब्यास लिग खेल्न अस्ट्रेलिया फर्कंदा लिन भने घाइते भएपछि आफ्नो देश अस्ट्रेलिया फर्किएका छन् ।
दुई जना स्टार विदेशी ब्याटर गएसँगै सुदूरपश्चिमले बाँकी खेलका लागि भारतका सेल्डन ज्याकसनलाई भित्र्याएको छ ।
भारतको सौराष्ट्रका ३९ वर्षीय विकेटकिपर ब्याटर ज्याकसनले कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट आइपीएलसमेत खेलेका थिए ।
कोलकाताबाट ९ खेलमा आइपीएल खेले पनि उनले उल्लेख्य प्रदर्शन गर्न भने सकेका थिएनन् । पछिल्लो समय उनले सौराष्ट्रबाट रणजी ट्रफी खेलेका थिए ।
सुदूरपश्चिमले पाकिस्तानबाट खेलिसकेका मुख्तर मानियालाई पनि भित्र्याएको छ । सुदूरपश्चिमका अनुसार उनले टी–२० क्रिकेटमा तीन शतक प्रहार गरिसकेका छन् । पछिल्लो समय उनले अमेरिकाबाट व्यवासायिक क्रिकेट खेल्दै आएका छन् ।
स्टक कुगलाइन पनि सुदूरका बलिया विदेशी खेलाडी हुन् । उनी पहिलो सिजनका सर्वाधिक विकेट लिने बलर हुन् ।
कप्तान ऐरीसहित सुदूरका स्वदेशी खेलाडीहरु विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा लगायतका खेलाडीहरुको प्रदर्शन पनि सुदूरका लागि फलदायी हुनसक्छ ।
एनपीएलको अंक तालिकामा सुदूरपश्चिम सात खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेर शीर्ष बन्यो ।
दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमडौं गोर्खाजले ५–५ जित निकाल्दै १० अंक जोडेका छन् । रनरेटमा विराटनगर अघि रहेकाले उसले क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको हो ।
चौथो बनेको लुम्बिनीले चार जित र तीन हार ब्यहो¥यो भने आठ अंक जोडेको छ । यी चार टोली प्लेअफमा पुग्दा अंक तालिकामा पोखरा एभेन्जर्स ६ अंक जोड्दै पाँचौ भयो ।
कर्णाली चार अंकसहित छैटौं, चितवन राइनोज पनि चार अंकसहित सातौं र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स दुई अंकसहित आठौं मात्रै बन्यो ।
View : 196
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved